काठमाडौं– एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पाकिस्तानले विजयी सुरुवात गरेको छ। समूह 'बी' को खेलमा पाकिस्तानले हङकङलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो।
हङकङले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पाकिस्तानले २३.४ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो। पाकिस्तानका लागि ओपनर इमाम उल हकले नटआउट ५० रन जोडे। उनले ६९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। फखर जमान २४ तथा बाबर अजाम ३३ रनमा आउट भएका थिए। सोएब मलिक ९ रनमा नटआउट रहे। बलिङमा हङकङका इसान खानले २ विकेट लिए।
त्यसअघि दुबई मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ३७.१ ओभरमा १ सय १६ रनमै अलआउट भयो। हङकङका लागि अइजाज खानले २७ र किन्चित साहले २६ रन जोडे।
ओपनरद्वय निजाकत खानले १३ र अंशुमान राथले १९ रन जोडेका थिए। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाई आउट भए।
बलिङमा पाकिस्तानका उस्मान खानले ३ विकेट लिए। हसन अली र सादब खानले २–२ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।