मनिला, फिलिपिन्स,(रासस/एएफपी) - फिलिपिन्समा म्याङ्कुट नामक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म ४९ पुगेको प्रहरीले जनाएको छ।
आँधीपछि गएको पहिरोमा परी हराएका १९ जनाको मृत शरीरलाई शनिबार र आइतबार उद्धार गरिएको प्रहरीले बताएको छ ।
प्रहरी प्रवक्ता बेनिग्नोे दुरानाले आइतबार एक विज्ञप्ति जारी गरी मृतक सङ्ख्या ४९ पुगेको बताउनुभएको छ । यस पहिले आइतबार नै प्रहरीले दिएको जानकारीमा फिलिपिन्समा म्याङ्कुट नामक आँधीका कारण ज्यान गुमाएका नागरिकको सङ्ख्या ३० पुगेको बताइएको थियो ।
फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन टापूमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ ।
राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सीस टोलेन्टीनोले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा कोर्डिलेरा प्रशासनिक क्षेत्रमा २०, नुएभा भिजाय प्रान्तमा चार जना र इलोकोज क्षेत्रमा एक जनाको मृत्यु भएको जानकारी दिए। अरु केहीको पनि मृत्यु भएको अपुष्ट खबर प्राप्त भएपनि यसबारे बिस्तृत विवरण प्राप्त भैनसकेको उनले बताउनुभयो ।
घर भत्किएर बागुओ सहरका एउटै परिवारका छ जनाको मृत्यु भएको बताइएको छ ।
आँधीका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । यस आँधीबाट फिलिपिन्समा मात्र ४० लाखभन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ । आँधीले रुखहरु ढालेको, घरका छाना उडाएको, झ्यालहरु फुटाएको बताइएको छ । लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ ।
आँधीपछि त्यो क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् ।
आँधीको प्रभाव फिलिपिन्सबाट क्रमशः हङकङ र पूर्वी चीनमा देखिन थालेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।