काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले निजगढ अन्तराष्ट्रिय विमानस्थलको नाममा सरकारले ब्रम्हलुट मच्चाउन खोजेको आरोप लगाए। उनले विमानस्थल निर्माणको नाममा लाखौं रुख कटानी गर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गरे। सांसद राजभण्डारीले उपराष्ट्रपतिको कार्यालय लैनचौंरस्थित समाज कल्याण परिषदमा बनाउने सरकारको निर्णयको पनि विरोध गरे।
प्रतिनिधिसभाका सांसदहरुले चीनसँग जोडिएका नाकामा नेपालतर्फ पूर्वाधार विकास गर्न सरकारसँग माग गरेका छन्।
सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले चीनसँग पारवहन प्रोटोकलमा सहमति जुटाउने ऐतिहासिक र क्रान्तिकारी काम गरेकोमा आभार व्यक्त गर्दै चीनसँग जोडिएको नाकाकाे सुधार गर्न माग गरे।
आईतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले चीनसँगको प्रोटोकलमा जुटेको सहमतिले नेपालले तेस्रो मुलुकसँग सिधा आवातजावत गर्न सक्ने भएपनि नेपालतर्फका नाकाको अवस्था नाजुक रहेकोे बताए।
सांसद भट्टराईले नेपाल तर्फको नाकामा यातायातको पूर्वाधारमा सुधार गर्न तत्काल लागी पर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गरे।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले निर्मला पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही नगरे सरकारको प्रतिष्ठामा गम्भीर आँच आउने चेतावनी दिइन्। सो घटनामा पहुँचवाला व्यक्तिको हात रहेको उल्लेख गर्दै उनले रोशनी बम र बबिता बमलाई पनि छानबिनको दायरामा ल्याउन पनि सरकारसँग माग गरिन्।
हुम्लाका सांसद छक्कबहादुर लामाले शिक्षा सेवा आयोगको परीक्षा हुम्लाको सिमिकोटमा लिने व्यवस्था गर्न माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।