काठमाडौं– ३८ सय किलो सुन तस्करी र सनम शाक्य कर्तव्य ज्यान मुद्दामा थुनामा पठाउने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालत विराटनगरले अभियुक्तलाई धरौटीमा रिहा गर्न थालेको छ।
गत शुक्रबार एसएसपी दिवस लोहनीलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो। आइतबार अर्का अभियुक्त डिएसपी प्रजित केसीलाई रिहा गर्न आदेश दिएको छ।
जिल्ला अदालत मोरङको आदेशलाई चुनौती दिँदै उच्च अदालत विराटनगरमा २७ जनाले निवेदन दिएका छन्। उनीहरुमध्ये दुई निवेदनमात्र सुनुवाई भएको छ। अन्य २४ निवेदन सुनुवाई हुने क्रममा छन् ।
जिल्ला अदालतवाट पुर्पक्षका लागि थुनामा रहेका त्रुटिपूर्ण आदेश बदर भई साधारण तारेखमा रिहा हुनुपर्ने माग गर्दै उच्च अदालतमा १७ नम्बरकाे निवेदन दायर गरेका थिए। तल्लो अदालतको फैसला चित्त नवुझेमा माथिल्लो अदालतमा निवेदन दायर गर्न पाउने व्यवस्था १७ नम्बर निवेदन हो।
जिल्ला अदालतले सबै अभियुक्तलाई थुनामै पठाएपछि उनीहरु उच्च अदालत पुगेका थिए।
असार ५ गतेदेखि अभियुक्तहरुले उच्च अदालतमा निवेदन दायर गरेका थिए। यसरी निवेदन दर्ता गर्नेमा एसएसपी लोहनी, पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत र भुजुङ गुरुङ थिए।
अन्य निवेदकमा थाई एयरवेजका कर्मचारी पुण्यप्रसाद लामा ‘तमाङ’ र सम्बिरप्रसाद तोलाङे तथा हेमन्त गौतमलगायत रहेका थिए।
उनीहरुको निवेदनमा सुनुवाई गर्दै एकल इजलाशले कैफियत प्रतिवेदन मागेको थियो भने संयुक्त इजलाशले धरौटीमा छोड्ने आदेश गरेको हो।
मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको आदेशले पुर्पक्षका लागि एक जना प्रतिवादीलाई साधारण तारेख र एक जनालाई धरौटी माग्दै अन्य सबैलाई थुनामा पठाउने आदेश गरेको थियो।
थुनामा रहेका एसएसपी दिवश लोहनी र डिएसपी सञ्जयबहादुर राउतले उच्च अदालत विराटनगरमा सुरुवातमै थुनामा नराखी साधारण तारेखमा रिहा गरेर मुद्दाको पुर्पक्ष गरिपाऊँ भन्दै निवेदन दिएका थिए।
अदालती बन्दोबस्तीको महल १७ अनुसार फौजदारी अभियोगमा जुनसुकै तहको अदालतबाट हुने थुनछेक आदेशमा असहमति भए पक्ष र विपक्षले पुनरवलोकनका लागि एक तह माथिको अदालतमा निवेदन दिन पाउने व्यवस्था कानुनमा छ।
प्रहरीको डेढ महिना लामो अनुसन्धानपछि गत बैसाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो।
उनीहरुविरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो।
मिलेमतोमा सुन तस्करी गर्ने चूडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको दाबी अभियोगपत्रमा गरिएको छ।
सरकारी वकिलको कार्यालयले उक्त रकम बिगोका रुपमा उनीहरुसँग असुल हुनुपर्ने मागदाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।