काठमाडौं– मलेसिया र खाडीका विभिन्न जेलमा ५ सय ५ जना नेपाली कामदार सजाय भुक्तान गरिरहेका छन् भने अन्य विभिन्न राष्ट्र पुगेका २५ नेपालीलाई भने मृत्युदण्डको सजाय तोकिएको छ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको पछिल्लो तंथ्याक अनुसार मलेसियामा मात्र १६ जना नेपाली कामदारलाई विभिन्न अभियोगमा मृत्युदण्डको सजाय तोकिएको छ। मलेसियामा २ सय ४ जना नेपाली जेलमा छन्। यीमध्ये ३ जना महिलाले पनि जेल जीवन बिताइरहेका छन्।
युएईका जेलमा १ सय ५३ जना नेपाली कामदार रहेको बोर्डले जनाएको छ। यीमध्ये १ जनालाई मृत्युदण्डको फैसला सुनाइएको छ। युएइको तत्ल्लो अदालतले मृत्युदण्डको सजाय सुनाई सकेको छ। यीमध्ये १२ जना महिला युएइका जेलमा रहेको बोर्डले जानकारी दिएको छ। युएइ जेलमा रहेका ४ जना नेपालीलाई आजीवन कारावास सजाय भुक्तान गरिरहेका छन् भने ४ जनालाई १० वर्षको सजाय तोकिएको छ।
साउदीस्थित नेपाली दूतावासले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार साउदीका विभिन्न जेलामा ५५ जना नेपाली थुनिएका छन्। थुनिएकामध्ये ५ जनालाई मृत्युदण्डको सजाय तोकिएको बोर्डले जानकारी दिएको छ। एक जनालाई एक वर्षभन्दा धेरै जेल सजाय तोकिएको पाइएको छ।
बोर्डका अनुसार कुवेतमा ५८ जना नेपाली कामदार विभिन्न मुद्दामा जेलामा परेका छन्। जसमा ३ जना महिला छन्। उनीहरुमध्ये ३ जनालाई मृत्युदण्डको सजाय तोकिएको छ। आजीवन कारावासको सजाय तोकिएका ९ जना छन् भने, १ जनालाई १५ वर्षको सजाय गरिएको बोर्डले जानकारी दिएको छ।
कतारमा २८ जना नेपाली जेल परेका छन्। यीमध्ये ३ जनालाई आजीवन कारावासको सजाय तोकिएको छ। १ जनालाई १५ वर्षको सजाय र ५ जना १० वर्षको जेल सजाय तोकिएको बोर्डले जानकारी दिएको छ।
ओमानमा एकजना महिला र एकजना पुरुष गरी दुई जना जेलमा रहेको बोर्डको तथ्यांकमा उल्लेख छ।
बोर्डको पछिल्लो तंथ्याक अनुसार वैैदेशिक रोजगारीमा गई जेल परेकामध्ये १६ जना आजीवन कारावासको सजाय भोगिरहेका छन्। २ जनालाई १५ वर्षभन्दा बढी जेल सजायको फैसला सुनाइएको छ। ४० जनालाई १० वर्षको जेल सजाय, २६ जनालाई १० वर्षभन्दा बढीको जेल सजाय तोकिएको छ। अन्य ४९ जना खाडी र मलेसियाका जेलमा रहेका कामदारको सजाय भने तोक्न बाँकी रहेको बोर्डले जानकारी दिएको छ।
वैदेशिक रोजगारीमा गई विभिन्न कारणले जेल वा सजाय तोकिएका नेपाली कामदारको विवरण कूटनीतिक नियोगमार्फत् संकलन गर्ने काम भइरहेको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए।
रोजगार गन्तव्य देशले मृत्यदण्डको फौसला गरेका कामदारका बारेमा सरकारले सरकारीस्तरमै छलफल गर्ने उनले जानकारी दिए। ‘विदेशका जेलमा परेका कामदारका विषयमा यथार्थ पत्ता लगाई समस्या समाधान गर्ने प्रयास सरकारले गर्नेछ। त्यसपछि कानुनी प्रतिरक्षाका विषयमा रोजगारदाता देशसँग परामर्शमा गरिने छ’ उनले भने।
विदेशका जेलमा कारावास सजाय र मृत्युदण्ड खोपिरहेका नेपाली कामदार के कारणले जेलसजाय तोकिएको हो सरकारले वास्तविक पत्ता लगाउन सकेको छैन। जसका कारण समस्या जटील बन्दै गएको छ।
कानुनी प्रक्रिया र भाषाको अज्ञानताका कारण नेपाली समस्यामा
वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार आफू जाने देशको कानुन र भाषाको ज्ञान नहुँदा विदेश पुगेपछि समस्यामा पर्ने गरेको पाइएको छ।
वैदेशिक रोजगारीमा गएका कामदार गन्तव्य देशको भाषासँगै सामान्य कानुन पनि थाहा हुँदैन। वैदेशिक रोजगारीमा जाने कामदारसँग रोजगारदाता देशको कानुन र भाषाका विषयमा जानकारी र ज्ञान नहुदाँ जेल र मृत्युदण्डसम्मको सजाय भोग्नुपर्ने अवस्था सिर्जना हुने गरेको सरोकारवालाले बताउँदै आएका छन्।
कामको खोजीमा विभिन्न देश पुगेका कामदार विदेशमा समस्यामा पर्ने क्रम बढ्दै गएको छ। रोजगारीमा गएका १ हजार ५ सयभन्दा बढी नेपाली विदेशमा अलपत्र पर्ने गरेको सरकारी अनुमान छ।
विस्तृतमा तालिका हेर्नुहाेस्
स्राेत : वैदेशिक राेजगार प्रवर्द्धन बाेर्ड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।