काठमाडौं– भारतको लखनउमा जारी यू–१९ एकदिवसीय क्रिकेट सिरिजमा नेपालले तेस्रो खेलमा जित निकालेको छ।
नेपालले आइतबार भएको खेलमा अफगानिस्तानको युवा टिमलाई २५ रनले पराजित गरेको हो। यसअघिका २ खेलमा पराजित भएको नेपालको यो पहिलो जित हो।
लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपाल ३ बल खेल्न बाँकी छदा १ सय ८९ रन जोड्यो। नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान पवन सर्राफले नटआउट ७८ रन जोडे। उनले ९६ बलमा १० चौका र १ छक्का प्रहार गरे। यस्तै रसिद खानको २४ र सन्दीप जोराको २८ रन पनि नेपालका लागि महत्वपूर्ण सावित भयो। नेपालका लागि लोकेश बमले १६ र भीम सार्कीले १३ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा अफगानिस्तानका नविद मोहम्मद कबिरले ३ विकेट लिए। यस्तै आरिफ खान दाउतजाइ र अबिद मोहमदी २–२ विकेट हात पारे।
१ सय ९० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान ४७.४ ओभरमा १ सय ६४ रन अलआउट भयो। अफगानिस्तानका कप्तान इजाज अहमद मेहरानले ५९ रन बनाए । उनले ९६ बलमा समान २–२ चौका र छक्का प्रहार गरे। ओपनर रेयाज हसनले ३८ र अबदुल रहमान रहमानीले ३७ रनको योगदान दिएपनि जितका लागि पर्याप्त हुन सकेन। बलिङतर्फ नेपालका सागर ढकालले ४ विकेट लिन सफल भए। यस्तै तीव्र गतिका बलर रसिद खान र कमलसिंह ऐरीले २–२ विकेट लिए । म्यान अफ दि म्याच भएका पवन शर्राफले १ विकेट लिए।
यसअघि नेपाल भारतको यू–१९ 'ए' र 'बी' टिमसँग पराजित भएको थियो। अब नेपालले मंगलबार तेस्रो स्थानका लागि अफगानिस्तानसँग नै खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।