काठमाडौँ– चार वर्षपछि हुन लागेको सहिद स्मारक 'ए' डिभिजन लिग ३ महिना संचालन हुने भएको छ। आगामी असोज १३ गतेदेखि हुने प्रतियोगिता पुस दोस्रो सातासम्म चल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
प्रत्येक साता एक चरणको लिग हुने एन्फाका महासचिव इन्द्रमान तुलधारले बताए। खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र हल्चोकस्थित सशत्र प्रहरी बलको (एपिएफ ) मैदानमा हुनेछ। साताको २ दिन २–२ खेल र एक दिन ३ खेल हुने एन्फाले जनाएको छ। लिगमा कूल ९१ खेल हुनेछ।
विजेतालाई ५० लाख, एक खेल जिते ५० हजार
लिग विजेताले ५० रुपैयाँ लाख पाउनेछ। उपविजेता हुने टोलीले ३५ लाख र तेस्रो हुनेले २५ लाख पाउनेछन् ।
चौंथोले १५ लाख,पाँचौंले सात लाख र छैटौंले पाँच लाख पाउनेछन्। प्रतियोगितामा फेयर प्ले टोलीले एक लाख पाउनेछ। प्रत्येक खेल जितेबापत क्लबले ५० हजार र म्यान अफ दि म्याच घोषित हुने खेलाडीले १० हजार प्राप्त गर्नेछन् । यस्तै खेल बराबरी भएमा दुवै टिमले १५–१५ हजार प्राप्त गर्नेछन्।
लिग अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले एक–एक थान मोटरसाइकल पाउनेछन् । रेलिगेशनबिनाको यो लिगको १४औं र १३औं स्थानमा रहने टिमको आगामी वर्ष संचालन हुने लिगमा क्रमश: २ अंक र १ अंक घटाइनेछ। यस्तै अन्तिम २ टिमले तयारी खर्च बार्तप दिने रकममा पनि ३ लाख र २ लाख घटाएर पाउनेछन्। लिगको तयारीका लागि एन्फाले प्रत्येक टिमलाई २० लाख रुपैयाँ प्रदान गर्नेछ। लिगमा पाँच करोड ८० लाख खर्च लाग्ने एन्फाले जनाएको छ।
१४ क्लको सभागिता
प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी, थ्री स्टार, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ, फ्रेन्ड्स, सङ्कटा, मछिन्द्र, सरस्वती युथ, च्यासल युथ, न्युरोड टिम (एनआरटि) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् । क्लबहरुले १८ देखि ३५ खेलाडी अनुबन्धित गर्न सक्ने एन्फाले जनाएको छ । जसमा चार विदेशी खेलाडी राख्न पाउने छन् । जसमध्ये एक खेलाडी दक्षिण एसियाका हुनु पर्नेछ। ४ भन्दा कम विदेशी खेलाडी भएमा दक्षिण एसियाका खेलाडी नभए पनि हुने एन्फाले जनाएको छ। लिग विजेता टोलीले एएफसी एसियन कप फुटबल २०१९ मा सहभागिता जनाउन पाउनेछ।
एन्ट्रिग्रिटी कमिटी र अनलाइन रजिस्ट्रेसन
यसपटकको लिगमा म्याच फिक्सिङ रोक्न एन्फाले इन्ट्रिग्रिटी कमिटी समेत गठन गरेको छ । मैदानमा सिसी क्यामेराको जडानसमेत गरिने एन्फाले जनाएको छ । यस्तै सहभागी क्लबले अनलाइन रजिस्ट्रेसन मार्फत खेलाडी दर्ता गराइरहेको एन्फाले जनाएको छ। खेलाडी दर्ताका लगि मेडिकल सर्टिफिकेट,इन्स्योरेन्स र खेलाडीको सम्झौता पत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने एन्फाले जनाएको छ।
बंगबन्धु गोल्डकपको प्रभाव
लिग सुरु भएको भोलिपल्ट बंगबन्धु गोल्डकप सुरु हुने भएकाले लिगको सुरुवाती खेलहरु प्रभावित हुने भएका छन्। बंगलादेशमा संचालन हुने बंगबन्धु गोल्डकपमा सहभागी हुन जाने राष्ट्रिय खेलाडी रहेको क्लबको खेल स्थगित हुने महासचिव तुलाधरले बताए। राष्ट्रिय खेलाडीले अहिले पनि क्लबमा नभएर राष्ट्रिय टिममा तयारी गर्ने उनको भनाइ थियो। दशै र तिहारको बीचमा पनि लिग रोकिने भएको छ। तिहार पछि भने निरन्तर लिग हुनेछ।
यसअघि सन् २०१६ को बंगबन्धु गोलकपको च्याम्पियन नेपालले त्यसबेलाको पुरस्कारको आधा रकम २५ हजार अमेरिकी डलर मात्र पाएको थियो। त्यसैले एन्फाले बाँकी पुरस्कार रकम नपाए यसपटक नखेल्ने जनाएको थियो। महासचिव तुलाधरका अनुसार बंगलादेश फुटबल संघले प्रतियोगिताअघि रकम उपलब्ध गराउने बचन दिएकाले नेपालले खेल्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।