काठमाडौं– प्रस्तावित निजगढ विमानस्थलका लागि काटिने रुखबाट आउने काठ र दाउराको बजार मूल्य नै करीब ६ खर्ब रुपैयाँ हुने आकलन सरकारले गरेको छ।
गत ९ वैशाखमा वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)मा विमानस्थल निर्माणका लागि जंगल फँडानी गर्दा त्यहाँबाट निस्किने काठ र दाउराको बजारमूल्य पाँच खर्ब ९६ अर्ब रुपैयाँ हुने आँकलन गरिएको छ। यसबाट सरकारी रोयल्टीमात्रै १५ अर्ब रुपैयाँ आउने पनि इआइए प्रतिवेदनमा उल्लेख छ।
आयोजना क्षेत्रमा पाँच लाख ८५ हजार चार सय ९९ गोटा रुख र १८ लाख ६४ हजार आठ सय २० गोटा पोल आकारका वनस्पति छन्। त्यसमध्ये १ लाख ९८ हजार ४ सय ५० छिप्पिएका सालका रुख र ४ लाख ५० हजार वटा सालको पोल भएको पाइएको प्रतिवेदनमा उल्लेख छ। साथै १४ लाख ५९ हजार ८ सय २० वटा अन्य प्रजातिका साल बाहेकका पोल आकारका रुखहरू रहेको प्रतिवेदनमा छ।
उक्त प्रतिवेदन अनुसार निर्माण स्थलनमा प्रति हेक्टर तीन हजार नौ सय प्राकृतिक वोटविरुवा छन्।
विमानस्थल निर्माणका लागि निर्धारण गरिएको कुल ८ हजार ४५ दशमलव ७९ हेक्टर क्षेत्रमा ९० प्रतिशत क्षेत्र जंगलले ओगटेको छ। बाराको कोहल्बी नगरपालिका वडा नम्बर ८ र जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ मा प्रस्तावित विमानस्थलको कुल लागत ६ सय ५६ करोड अमेरिकी डलर (करिब साढे सात खर्ब रुपैयाँ) अनुमान गरिएको छ।
सरकारले पहिलो चरणमा उक्त आयोजनाको दुई हजार पाँच सय हेक्टरमा विमानस्थल निर्माण गर्ने बताएको छ। यसका लागि पहिलो चरणमा सात लाख ७० हजार रुख काट्नुपर्ने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ।
विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) लगायतका पूर्वतयारी नगरी रुख काट्ने प्रस्ताव अघि बढाएकोमा व्यापक विरोध भएपछि शनिबार पत्रकार सम्मेलन गरी पर्यटन मन्त्री रवीन्द्र अधिकारीले अब डिपिआरको तयारी अघि बढाउने बताएका छन्। उनले सम्पूर्ण प्रक्रिया पूरा गरेपछिमात्र रुख काट्ने बताएका छन्।
प्रस्तावित विमानस्थललाई ट्रान्जिट विमानस्थलका रुपमा विकास गर्ने लक्ष्य सरकारको छ।
यो पनि पढ्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।