काठमाडौं– पोखरमा ‘रेड लाइट एरिया’ घोषणा गर्दै यौनकर्मीलाई परिचयपत्र वितरण गर्नुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा माग भएको छ।
आइतबार संसद बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले ‘रेडलाइट एरिया’ खोल्ने भन्दै महिला अस्मिता माथि प्रहार गरेका मुख्यमन्त्री गुरुङले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन्।
केही दिनअघि पोखरामा आयोजित एक कार्यक्रमका दौरान मुख्यमन्त्री गुरुङले ‘रेड लाइट एरिया’ तोक्दै यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका थिए।
मुख्यमन्त्री गुरुङको भनाईले नेपाली नारीको अपमान गरेको भन्दै सांसद चौधरीले राजिनामा माग गरेकी हुन्।
‘महिला हिंसा रोक्न नसक्ने अनि रेड लाइटको कुरा गर्ने?,’ उनले प्रश्न गरिन्, ‘मुख्यमन्त्रीको भनाईले महिला अस्मिता माथि प्रहार भएको छ।’
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सरकारले अझै दोषी पत्ता लगाउन नसकेको भन्दै पीडितलाई न्याय दिन उनले माग गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।