राजविराज– विशेषज्ञ डाक्टर अभावका कारण सप्तरीको कञ्चनरुप नगरपालिकामा फैलिएको स्वाइन फ्लुु र हङकङ फ्लुुको उपचार सेवा प्रभावित भएको छ।
उक्त नगरपालिकामा १ जनामा स्वाइन फ्लुु र ४ जनामा हङकङ फ्लुको संक्रमण भेटिएको छ। ज्वरो आउने, खोकी लाग्ने लगायतका लक्षणबाट ४ जनाको हालसम्म मृत्यु भइसकेको छ। २ हजार १ सय जनामा ज्वरो, रुघाखोकी लगायतको समस्या रहेपछि नगरपालिकालाई नै ‘विपद क्षेत्र’ घोषणा गरिएको छ।
नगरपालिकाको आकस्मिक बैठकले यस्तो घोषणा गरेर तीन दिनसम्म विद्यालय समेत बन्द गरिएको छ। विरामीहरूलाई उपचारका लागि आवश्यक विज्ञेषज्ञ डाक्टर नहुँदा समस्या परेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताए।
उनले भने, ‘विशेषज्ञ डाक्टरको अभावले उपचारमा आवश्यक औषधि चलाउन अन्यौल छ।’ विशेषज्ञ डाक्टरको निगरानीमा मात्र यस्तो औषधि चलाउनु पर्ने भएकोले उपचारमा कठिनाइ भएको उनको भनाइ छ।
वडा ४, ६, ७ र ११ मा नमुना रगत र खकार संकलनका लागि शिविर सञ्चालन गरी हालसम्म ४० जनाको नमुना जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी दिँदै गुप्ताले हाल कञ्चनपुर स्वास्थ्य केन्द्रका डाक्टर सञ्जिव झा, राजेश कुमार यादव तथा कडरवोना स्वास्थ्य केन्द्रका जितेन्द्रकुमार यादव र मनोजकुमार चौधरीसहित ८० जना स्वास्थ्यकर्मीले सेवा दिइरहेको बताए।
जिल्ला दैवी प्रकोप उद्दार समितिले चार दिनअघि राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालका डाक्टर रञ्जित झाको नेतृत्वमा दुई सदस्यीय टोली पनि प्रभावित क्षेत्रमा खटाएको थियो। तर, उक्त टोली प्राथमिक स्वास्य केन्द्र कञ्चनपुरमा पुगेर १० मिनेटपछि नै फिर्ता भएको थियो।
‘हामीसँग त उहाँहरूको भेट पनि भएन, के के गरेर जानु भो भन्ने नै थाहा छैन,’गुप्ताले भने। जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक तथा सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले कञ्चनरुपमा फ्लुको समस्या घट्दो दरमा रहेको र भयावह अवस्था नरहेकाले डा. झाको टोली फिर्ता भएको बताए।
‘अहिले गम्भीर समस्या भएका विरामी कञ्चनपुरमा छैनन् र विरामीको संख्या पनि घट्ने क्रममा छ,’ उनले भने, ‘आवश्यकता परे हामी फेरि डाक्टरको टोली पठाउँछौ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।