चितवन– चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र वरण्डाभार क्षेत्रमा पर्ने राजमार्गहरुमा सेना परिचालन गरेर सरसफाइयुक्त बनाउन संरक्षणकर्मीहरुले माग गरेका छन्।
विश्व सरसफाइ दिवसको अवसरमा वरण्डाभार जैविक मार्गमा पर्ने पूर्वपश्चिम राजमार्गमा अन्तक्रिया कार्यक्रम तथा सरसफाइ गर्दै जिल्लाका अगुवा संरक्षणकर्मीहरुले यस्तो माग गरेका हुन्।
उनीहरुले विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको टिकौली जंगल क्षेत्रमा पटक–पटक स्थानीयस्तरबाट सरसफाइका लागि पहल गरिए पनि सर्वसाधारण र राजमार्गमा हिड्ने यात्रुहरुले वेवास्ता गरेको भन्दै सरसफाइयुक्त बनाउन सेना परिचालन गर्न माग गरिएको हो।
शनिबार सरसफाइका क्रममा प्लाष्टिकजन्य तथा अस्पतालजन्य फोहरहरु जथाभाबी फालेको पाइएको भन्दै जौविक विविधता संरक्षणका लागि राजमार्ग क्षेत्रमा सेना परिचालन गरी पूर्ण सरसफाइयुक्त बनाउन उपयुक्त हुने उनीहरुको सुझाव थियो।
सरसफाइ कार्यक्रममा प्रदेश सांसद कृष्ण भूर्तेलले सेना परिचालन गरिएकै कारण निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको भन्दै मध्यवर्ती क्षेत्रभित्र पर्ने राजमार्गमा १ वर्ष जति सेना परिचालन गरि सरसफाइको प्रणाली विकास गर्नुपर्ने धारणा राखे।
राजमार्ग अन्तर्गत टिकौली क्षेत्र वन्यजन्तुको करिडोर भएको तथा जथाभाबी सवारी रोकी फोहोरसमेत गरिएको पाइएकोले सेना राख्नु संरक्षणमा उपयोगी कदम हुनसक्ने टिकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ईश्वरी लामिछाने बताए।
त्यस्तै पन्चकन्या सामुदायिक वनका अध्यक्ष रामबाबु श्रेष्ठले बर्दिया राष्ट्रिय निकुञ्जमाजस्तै सरसफाइ तथा वन्यजन्तु सुरक्षाका लागि सेना परिचालन गर्न उपयुक्त हुने धारणा राखे।
जिल्ला वन कार्यालय, पञ्चकन्या सामुदायिक वन र टिकौली मध्यवर्ती सामुदायिक वनले नै वन हेरालु राखे पनि रातको समय फोहर फाल्ने क्रम बढेको स्थानीय बाघ संरक्षण समितिका अध्यक्ष जीतु तामाङले दाबी गरे।
सो अवसरमा बोल्दै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार खड्काले जंगलमा जथाभाबी फोहोर गरिएको र सवारी चापका कारण धेरै जीवजनावरले अकालमा ज्यान गुमाउनु परेको बताए। उनले निकुञ्जले मात्रै यस्ता कार्यमा पहल गरेर नहुने भन्दै सबैलाई सहकार्य गर्न आग्रह गरे।
सरसफाई गर्दा सबैभन्दा धेरै अस्पतालजन्य फोहरहरु पाइएको र २ ट्याक्टर फोहोर संकलन गरिएको टिकौली वनका कार्यालय सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए।
कार्यक्रममा निकुञ्जसगै, जिल्ला वन कार्यालय, बटुक दल गण कसरा, पञ्चकन्या र वरण्डाभार वन, रत्ननगर नगरपालिका, नेपाल प्रहरी, स्थानीय टोल विकास संस्था र स्थानीय जनताहरुको सहभागीता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।