राजविराज– सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१२ को सुकुम्बासी बस्तीमा कोसीको पानी पस्दा फेरि जलमग्न भएको छ।
भदौ १२ गते राति पसेको पानी सुक्न नपाउँदै बिहीबार र शुक्रबार भएको वर्षापछि कोसीमा पानीको सतह बढेर बस्तीमा पसेपछि उनीहरू समस्यामा परेका हुन्। वडा नं. १२ को सुकुम्बासी बस्ती सहित ७, ११ र १४ मा पनि पानी पसेको छ।
स्थानीय बलराम पण्डितका अनुसार वडा नं. १२ मा मात्र १ सय ८० घर डुबानमा परेका छन्। यसैगरी, वडा नं ७, ११ र १४ का ३ सय भन्दा बढी घर डुबानमा परेपछि आफूहरू फेरि बिचल्लीमा परेको वडा नं. १२ की उर्मिला श्रेष्ठले बताइन्।
कोसीको बहाव पश्चिमतिर फर्केका कारण घर डुवानमा परेको भन्दै बाढीपीडित सुकनीदेवी मुखियाले बिचल्लीमा पनि कसैले सहयोग नगरेको गुनासो पोखिन्।
‘दुई साता अघिको बाढीका कारण भोकभोकै सडकको बाँधमा बस्नुपरेका थियो। अहिले एकपछि अर्को विपत्ति आइलागेको छ,’ उनले दुःखेसो पोखिन्। वालबच्चाको विचल्लीका कारण वर्षाको पानीबाट ओत लाग्न ऋण काढेर प्लास्टिक किन्नुपरेको श्रेष्ठको बताइन्।
अब त उनको पानी सुक्ला र घरमा सुरक्षित रुपमा बसौंला भन्ने आशा पनि मरिसकेको छ।
डुबानमा परेका अधिकांश परिवार सुकुम्बासी छन्। आफ्नो जग्गा नहुँदा कोसीको बाढीको उच्च जोखिममा रहेको गहिरो एैलानी जग्गामा बस्दै आएको उनीहरू बताउँछन्।
दुई/चार किलो चिउरा, चामल लगायतका राहत दिनु भन्दा पनि आफूहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाई दिन उनीहरुले माग गरेका छन्।
‘२/४ केजी राहतले हाम्रो समस्या सकिँदैन,’ स्थानीय हरेराम मुखिया भन्छन्, ‘सुरक्षित ठाउँमा बस्ने व्यवस्था भए बालबच्चालाई ढुक्कसित राखेर हामी बनिबुतो गरेरै जिविका चलाउने थियौँ।’
हनुमाननगर कंकालनी नगरपालिकाका मेयर शैलेश कुमार साहले पीडितहरुको समस्याप्रति आफूहरु गम्भीर रहेको भन्दै कोसी बाँधको पश्चिमतर्फ उनीहरुको बसोबासका लागि पहल भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।