काठमाडौं– एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बंगलादेशले विजयी सुरुवात गरेको छ। कपको पहिलो खेलमा बंगलादेशले श्रीलंकामाथि १ सय ३७ रनको जित निकालेको हो।
दुबईमा सुरु प्रतियोगितामा टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेश ३ बल खेल्न बाँकी छदा २ सय ६१ रनमा अलआउट भयो। खराब सुरुवात गरेको बंगलादेशका सुरुवाती २ ब्याट्सम्यान पहिलो ओभरमै आउट भएका थिए। सकिब अल हसन र लिटोन दासलाई श्रीलंकाका तीव्र गतिका बलर लासिथ मालिङ्गाले पहिलो ओभरमै पेभिलियनको बाटो देखाएका थिए। अर्को ओभरमा तमिम एकबाल घाइते भएपछि बंगालादेश सुरुवातमै संकटमा परेको थियो।
तर मध्यक्रमका ब्याट्सम्यान मुस्फिकर रहिमले सानदार ब्याटिङ गर्दै बंगलादेशको आसा जगाए। उनले मोहमद मिथुनसँग तेस्रो विकेटका लागि १ सय ३१ रनको साझेदारी गरे। मिथुनले ६८ बलमा ६३ रनको योगदान दिए। ४७ ओभरमा नवौं विकेटको रुपमा आउट हुनुअघि रहिमले १ सय ४४ रन जोडे। उनले १ सय ५० बलमा ११ चौका र ४ छक्का प्रहार गरे। उनको यो छैटौं एकदिवसीय शतक हो।
बलिङमा श्रीलंकाका मालिङ्गाले ४ विकेट लिए भने धनन्जय डे सिल्भाले २ विकेट लिए।
२ सय ६२ रनको लक्ष्य पछ्याएको श्रीलंका ३५.२ ओभरमा १ सय २४ रनमै अलआउट भयो। उसका लागि ओपनर उपुल थारांगाले २७ रन जोडे भने आठौं नम्बरका ब्याट्सम्यान दिलरुवान परेराले सर्वाधिक २९ रन जोडे। श्रीलंकाका ६ ब्याट्सम्यान दोहोरो अंकमा रन जोडन् नपाइ आउट भए।
श्रीलंकाको इनिङ ध्वस्त पार्ने क्रममा बंगलादेशका मोस्राफी मोर्ताजा, मुस्ताफिजुर रहमान र मेहदी हसन मिराजले २–२ विकेट लिए। सकिब अल हसन, रुबेल हुसेन र मोसाडेक हुसेनले १–१ विकेट लिए।
एसिया कपमा समूह 'बी' को खेलमा आज हङकङ र पाकिस्तानबीच खेल हुनेछ। हङकङ मलेसियामा भएको छनोटमा च्याम्पियन हुँदै एसिया कपमा छानिएको हो। छनोटमा नेपालले पनि भाग लिएको थियो। तर कमजोर प्रदर्शन गर्दा नेपाल छनोट हुन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।