सुर्खेत– कर्णाली प्रदेश सरकारले स्वास्थ्य परामर्श समिति गठन गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति गठन गर्ने निर्णय गरेको हो।
डा भगवान कोइरालाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए। उनका अनुसार उक्त स्वास्थ्य परामर्श समितिका सदस्यमा डा अर्जुन कार्की, डा सेनेन्द्रराज उप्रेती, डा सुरेश तिवारी, डा डम्बर खड्का, डा मंगल रावल र डा तीर्थ थापा रहेका छन्।
समितिले कर्णाली प्रदेशका लागि आवश्यक स्वास्थ्य नीति बनाउनका लागि सरकारलाई सुझाव दिने जनाइएको छ।
प्रदेश समन्वय परिषद्को बैठक असोजमा
सरकारले कर्णाली प्रदेश समन्वय परिषद् बैठक आगामी असोजमा गर्ने निर्णय गरेको छ। स्थानीय सरकार सञ्चालन ऐनको दफा १०५ अनुसार गठित कर्णाली प्रदेश समन्वय परिषद् बैठक असोज १९ र २० गते आयोजना गर्ने निर्णय भएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीले जानकारी दिए।
यसैगरी, बैठकले सुर्खेतको सिम्ता गाउँपालिकाको केन्द्र विवाद समाधान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गर्ने, जुम्लाको हिमा गाउँपालिकाको केन्द्र विवादको समस्या समाधान गर्न मन्त्रिपरिषद्को राजनीतिक समितिमा पठाउने, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक सेवा प्रशारण विधेयकको मस्यौदालाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ।
मन्त्री भण्डारीका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेको सार्वजनिक निर्माण र परामर्श सम्बन्धी काम संक्षिप्त कार्यविधिबाट गर्ने प्रस्तावसमेत पारित गरिएको छ। सामाजिक विकास मन्त्रालयबाट प्रस्तावित संगठन संरचना तथा दरबन्दी तेरिज नेपाल सरकारबाट स्वीकृत भई नआउँदासम्म संलग्न संगठन संरचना र दरबन्दी अनुसार कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ।
प्रदेशका स्वीकृत दरबन्दीमा कर्मचारी पठाउनका लागि नेपाल सरकारलाई अनुरोध गर्ने, तत्काल खटाउन नसक्ने अवस्थामा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न आवश्यक प्राविधिक कर्मचारी सेवा करारमा लिनका लागि अनुरोध गर्ने निर्णय पनि सरकारले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।