काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि रुख कटानको काम विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) पछिमात्र सुरु हुने बताएका छन्।
प्रक्रिया नै नपुर्याइ रुख काट्न सरकारले हतारो देखाएको भन्दै आलोचना भइरहेका बेला शनिबार नागरिक उड्डयन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले सबै प्रक्रिया पुर्याएरमात्र रुख कटानको काम थाल्ने बताएका हुन्।
वातावरण संरक्षणलाई समेत ध्यान दिएर आयोजनाको काम अघि बढाउने बताएका हुन्। उनले ‘दीगो विकासको अवधारणा’ न्यूतनम वातावरणीय क्षति हुनेगरी काम अघि बढाउने बताएका छन्।
बाराको कोहल्बी नगरपालिका–८ र जितपुर सिमरा उपमहानगरपालिका–१ मा पर्ने ८ हजार ४५ दशमलव ७९ हेक्टर क्षेत्रमा बनाउने गरी प्रस्तावित विमानस्थल निर्माणका लागि ९ जेठमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको छ ।
उक्त प्रतिवेदन अनुसार विमानस्थल निर्माणका लागि २४ लाख रुख काट्नुपर्छ।
.इआइए प्रतिवेदन अनुसार पर्यटन मन्त्रालयले गत २१ असारमा पहिलो चरणमा २ हजार ५ सय ५६ हेक्टरका सात लाख ७० हजार रूख कटानका लागि २१ असारमा वन मन्त्रालयमा कार्ययोजना पेस गरेको थियो।
तर, उक्त प्रस्ताव अहिले वन तथा वातावरण मन्त्रालयमा अड्केको छ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विरुवा रोप्ने टुंगो लागेपछि मात्र रुख कटान गरिने बताए।
विमानस्थल सार्वजनिक–निजी साझेदारी (पीपिपी) मोडलमा बनाउने पक्का भएको उनले बताए।
आगामी केही समयभित्र विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न कम्पनी छनौट गरिने मन्त्री अधिकारीले बताए।
महानिर्देशक गौतमले आगामी २ वर्षभित्र (साइट क्लियरेन्स) सकिएर त्यसको पाँच वर्षभित्र विमानस्थल निर्माण भइसक्ने बताए।
कुल क्षेत्र ८ हजार ४५ हेक्टर भए पनि पहिलो चरणमा १ हजार ९ सय हेक्टरमा विमानस्थलको संरचना निर्माण हुनेछ।
विमानस्थलको लागत करिब साढे सात खर्ब रुपैयाँ अनुमान गरिएको इआइए प्रतिवेदनमा उल्लेख छ।
पर्यटनमन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढको विकल्प नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।