काठमाडौं– नेपाली क्रिकेट समर्थक समाज (एनसिसिएस ) ले 'स्व प्रमोद बज्राचार्य एनसिएसएस राष्ट्रिय सेवा सम्मान' राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर करण केसीलाई प्रदान गरेको छ।
केसीलाई शनिबार आयोजित कार्यक्रममा १ लाख रुपैयाँ प्रदान गरिएको छ। यस्तै इमर्जिङ प्लयेरको रुपमा हरि चौहान छेत्रीलाई २५ हजार रुपैयाँले सम्मान गरिएको छ।
एनसिएसएसका तत्कालिन कोषाध्यक्ष प्रमोद बज्राचार्यको ४ महिनाअघि ब्रेन ह्याम्रेजका कारण युवा उमेरमै निधन भएको थियो। त्यसैले उनको सम्झनामा पुरस्कार प्रदान गरिएको हो।
गत वर्ष नामिबियामा भएको आइसिसी डिभिजन–२ मा करण केसीको अभूतपूर्व प्रदर्शनको बलमा नेपालले डिभिजन–१ को यात्रा तय गरेकाले आफ्ना सदस्यहरु मार्फत सहयोग उठाएर केसी सम्मान गरिएको एनसिएसएसले जनाएको छ।
राष्ट्रिय क्रिकेट प्रतियोगितामा इमर्जिङ प्लयेरको रुपमा रहने महिला वा पुरुष खेलाडी मध्ये १ लाई प्रदान गरिने 'स्व प्रमोद बज्राचार्य एनसिएसएस राष्ट्रिय सेवा सम्मान' प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने हरि चौहानलाई प्रदान गरिएको हो।
एनसिएसएसका भोलेन्टियर सदस्यमध्ये महेन्द्र गुरुङलाई पनि सम्मान गरिएको छ। एनसिएसएसमा आफ्नो समय र सहयोग गर्ने सदस्यमध्ये गुरुङलाई प्रशंसा पत्रले सम्मान गरिएको छ।
तीन वटै सम्मानको लागि सदस्यबाट १ लाख ३४ हजार ३५ रुपैयाँ संकलन गरिएको थियो। जसमा १ लाख २५ हजार सम्मानमा, २ हजार ब्यानर र डमि चेकमा, ३ सय पानीमा, ४ सय फ्रेममा र २ सय खादामा खर्च भएको छ। यस्तै ५ हजार सम्मान कार्यक्रमको रिफ्रेसमेन्टमा खर्च भएको छ भने बाँकी रकम ११ सय ३५ रुपैयाँ एनसिएसएसको अक्षयकोषमा जम्मा गरिनेछ। कार्यक्रममा एनसिएसएस अध्यक्ष भानु सिग्देल, स्व प्रमोद बज्राचार्यको दिदी सन्जु बज्राचार्य, राष्ट्रिय क्रिकेट खेलाडी करण के सि र सोमपाल कामीको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।