काठमाडाै- नेपाली कांग्रेसका युवा नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापाको सोच र क्षमता दुबैमा बादल लागेको टीप्पणी गरेका छन्।
'प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै थापाले सोच र क्षमता दुबैमा बादल लागेका गृहमन्त्री हामीलाई चाहिन्छ र' भन्दै प्रश्न गरे।
संसदमा थापाको बोली जस्ताको तस्तैः-
ठूलो माछा पक्रन सक्नु भएन। हामी बाेलेनौं। कामचोर व्यावसायीलाई कानुन नै नबनाई पक्रनुभयो, छोड्नु भयो। हामी बोलेनौं। ट्रमा सेन्टरबाट डाक्टर उठाउनुभयो, हामी बोलेनौं। विदेश जान लागेका लेनिन विष्टलाई विमानस्थलमा रोक्नुभयो। पत्रकार शम्भु श्रेष्ठलाई स्पष्टीकरण सोध्नुभयो, राजु बस्नेतलाई प्रहरी लगाउनुभयो, हामी बोलेनौं।
हामीलाई लागेको थियो– गृहमन्त्री व्यक्ति त ठिकै हो, क्षमतामा मात्रै केही बादल लागेको होला। हिजो जब हामी बोल्यौं-गृहमन्त्री पनि बोल्नुभयो। अनि थाहा भयो-युद्ध वा शान्तिको दुबै नियमसँग नमिल्ने कुरा।
हिरासतमै राममनोहर यादव मारिँदा, निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीलाई आफ्नै संयन्त्रहरु जोगाउन लागिरहँदा ग्लानीबाेध नभएको गृहमन्त्रीको क्षमतामा मात्रै बादल लागेका होइन रहेछ, बादल त गृहमन्त्रीको सोंचमै लागेको रहेछ। सोंच र क्षमता दुबैमा बादल लागेका गृहमन्त्री हामीलाई चाहिन्छ र?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।