रसुवा- नेपाल खाद्य संस्थान तथा नेसनल ट्रेडिङ लिमिटेडले दुर्गम जिल्लाका लागि पठाएको खाद्यान्न सामग्री रसुवागढी नाकामा थन्किएको छ।
डोल्पा जिल्लाको तिन्जे डिपोका लागि पठाएको चामल तथा नुन र अन्य निर्माण सामग्री ४० दिनदेखि रसुवागढी नाकामा थन्किएको हो। ४० दिनअघि भन्सार गरी केरुङ लैजान लागिएको सामग्री चीनतर्फको भन्सार कार्यालयले एजेन्टमार्फत लान नमिल्ने बताएपछि रसुवागढी नाकामै थन्किएको निकासीकर्ता रामशरण देउजाले बताए। 'यसअघि सामग्री लैजानका लागि सहज थियो, नेपालतर्फ सामग्रीको भन्सारसमेत भइसकेको छ,' उनले भने, 'चीनतर्फको भन्सार कार्यालयले एजेन्टमार्फत सामग्री लैजान मिल्दैन भनेर दिएन।'
चीन सरकारले नै जिम्मा लिई कन्टेनरको प्रयोग गरी लान अनुरोध गरेपछि कन्टेनरको अभावमा लान नसकिएको उनको भनाइ छ। विगतमा दुर्गमका लागि खाद्यान्न वस्तुहरुको ढुवानी गर्दा खुल्ला रुपमा लाने व्यवस्था भए पनि अहिले कन्टेनरको प्रयोग गर्नुपर्ने नयाँ व्यवस्थाले रोकिन पुगेको बताइएको छ।
टिमुरेमा भण्डारण
चीन सरकारले अनुमति नदिएपछि व्यापारीले ती सामग्री प्रहरी चौकी टिमुरेमा भण्डारण गरेका छन्। ४० दिनसम्म रसुवागढी नाकामा थन्किएको चामल र नुन शुक्रबार प्रहरी चौकीमा भण्डारण गरिएको हो।
डोल्पाका लागि ४ हजार ७ सय क्विन्टल चामल र २ हजार ७ सय क्विन्टल नुन लैजान लागिएको छ। त्यस्तै १० वटा कन्टेरमा विद्यालय, पुल र स्वास्थ्य चौकीको सामग्री रहेको छ। त्यस्तै पाँच वटा कन्टेनरमा भने डिजेल छ।
केरुङबाट डोल्पामा सामग्री पुर्याउन करिब एक साता लाग्छ। केरुङबाट चिनियाँ कन्टेनर वा टेलरको प्रयोग गर्नुपर्छ।
चीन सरकारले नै जिम्मा लिने गरी कन्टेनरको प्रयोग गर्न आग्रह गरिएको तर सामग्री लैजान पर्याप्त कन्टेनर नरहेको देउजाले बताए। उनले भने, '८० वटा कन्टेरमा सामग्री लैजान लागेका छौँ, चिनियाँ टेलर भएमा २५ देखि ३० वटा भए पुग्छ।'
तर कन्टेनरमा लैजाने हो भने ८० वटै कन्टेनर आवश्यक पर्छ। नेपाली कन्टनेर चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङसम्म मात्र जान पाउँछन्। लामो समयसम्म सामग्री गाडीमा राख्दा र लान नपाउँदा चामल तथा नुन जस्ता खाद्यान्न बिग्रने अबस्थामा पुगेको र ढुवानी भाडासमेत महँगो हुन पुगेको निकासीकर्ता देउजाले बताए । ‘डोल्पाका बासिन्दाले चामल पाएका छैनन्, तर लैजान लागिएको चामल कुहिने अवस्थामा पुगिसकेको छ,' उनले बाध्यता सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।