काठमाडौं– नेपाली सेनामा विदेशीहरुको मोह बढ्दै गएको पछिल्लो केही घटनाले देखाउँछ। शिष्टाचार भेटका नाममा लगालग सेनाकै मुख्यालयमा सेनाप्रमुखसँग भेटघाट बढ्नुले यो कुरालाई थप पुष्टि गर्छ। नागरिक सर्वोच्चता रहेको कुनै मुलुकमा विदेशीहरुले सेनाप्रमुखलाई भेट्ने चलन छैन। तर नेपालमा त्यसको पालना भएको पाइँदैन।
भेटघाटको शृंखला बढ्दै जाँदा शुक्रबार चिनियाँ राजदूत यू होङले प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालयमै गएर शिष्टाचार भेट गरेकी छिन्। गत सोमबार पनि दक्षिणी छिमेकी देश भारतका राजदूत मञ्जीवसिंह पुरी सेनाप्रमुख थापासँग शिष्टाचार भेटका लागि सैनिक मुख्यालयमै पुगेका थिए।
कूटनीतिक भेटघाटमा भियना सन्धि–१९६१ मा उल्लेख भएको कूटनीतिक व्यवस्थाको पालना हुनुपर्नेमा नेपालमा त्यसो भएको नपाइने नेपाली सेनाका पूर्वजनरल डा उमेश भट्टराई बताउँछन्। ‘नागरिक सर्वोच्चता भएको देशमा त विदेशीहरुले सेना प्रमुखलाई भेट्ने प्रचलन नै छैन,' भट्टराईले भने, ‘तर भेट्नै परेको अवस्थामा विदेशी नियोगको प्रमुखले होइन कि नियोगका सैनिक सहचारीले सैनिकका गुप्तचर प्रमुखलाई भेट्ने चलन हो, जुन नेपालको हकमा पालना भएको छैन।’
बाहिरी मुलुकमा पनि विदेशी राजदूतहरुसँग सेनाप्रमुखले भेटघाट गर्ने प्रचलन नभएको सुरक्षा मामिलाका एक जानकार बताउँछन्। ‘नेपालको सन्दर्भमा शिष्टाचार भेटघाटका नाममा सैनिक मुख्यालयमै विदेशीहरु पुग्ने कार्यले शुभ संकेत गर्दैन,' उनले भने, ‘नेपालको हकमा पनि शाही शासनकालमा विदेशीहरुले सैनिक प्रमुख र मुख्यालयसम्म सजह पहुँच पाउँदैनथे तर केही समय यता बग्रेल्ती रुपमा यस्ता घटना बढ्दै गएको छ।’
अर्कोतर्फ यस्तो भेटघाटमा कूटनीतिक आचारसंहिता पालन गर्नुपर्नेमा त्यो पालना भएको पाइँदैन।
विदेशी नियोगका प्रमुख वा अन्य पाहुनाले नेपालका सरकारी कर्मचारी, अथवा सार्वजनिक पद धारण गरेका व्यक्तिसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालयलाई जनकारी गराउनुपर्ने कूटनीतिक व्यवस्था रहेको छ। तर, नेपालमा यो व्यवस्थालाई अवमूल्यन गर्दै भेटघाट हुने गरेको छ।
केही समयअघि मात्रै नेपाल सरकारले भारतको पुनेमा भइरहेको बिम्स्टेक क्षेत्रका सैन्य अधिकारीहरुको संयुक्त अभ्यास कार्यक्रममा सहभागिता नजनाउने बताएको थियो। त्यसको तीन दिनपछि सेना प्रमुख थापा र भारतीय राजदूत पुरीबीच सेनाको मुख्यालयमै भेट भएको थियो।
यस्तै नेपाल र चीनबीच असोज १ गते देखि १२ दिनसम्म नेपाल–चीन दोस्रो संयुक्त सैन्य अभ्यास कार्यक्रम हुँदै छ। चीनको सिचुवान प्रान्तको छेन्दु सहरमा आयोजना हुने सैन्य अभ्यास कार्यक्रमको पूर्वसन्ध्यामा सेनाप्रमुख र राजदूत होङबीच भेट भएको प्रचार गरिएको छ।
स्थायी राज्य संस्थाको रुपमा राजतन्त्रको अन्त्य भएपछि विदेशीहरुले नेपालको सैनिकलाई प्रलोभनमा पार्ने चेष्टा बढ्दै गएको टिप्पणी आउँदै गर्दा यस्ता किसिमबाट लगातार रुपमा भइरहेको भेटघाटका बारेमा भने सेना सचेत हुनुपर्ने विज्ञहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।