काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा पनि पार्टी नेतृत्व नछाड्ने संकेत गरेका छन्।
सभापति देउवाले नेतृत्वको लागि आफू अझै नथाकेको प्रतिक्रिया दिएका हुन्।
शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली कांग्रेसको भूमिका र आगामी चुनौतिहरु’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले आफू नेतृत्वका लागि नथाकेको भन्दै थाकेकाहरुलाई पार्टीबाट बिदा लिन पनि आग्रह गरे। कार्यक्रममा पार्टीका महामन्त्री शशांक कोइरालाले नेतृत्व हस्तान्तरण गर्न सभापति देउवालाई आग्रह गरेका थिए। सोही प्रसंग उल्लेख गर्दै सभापति देउवाले आफू अझै नथाकेको भन्दै नेतृत्व नछाड्ने संकेत गरेका हुन्।
सभापति देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कारबाही गर्न आफूले प्रस्ताव राख्दा पनि नमानेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति असन्तुष्टि व्यक्त गरे। उनले पार्टीलाई एकतावद्ध बनाउन तथा अनुशासित पार्टी बनाउन सबैलाई पहल गर्न पनि सचेत गराए।
सभापति देउवाले सरकारले निर्मला पन्तका हत्यारालाई संरक्षण दिइरहेको गम्भीर आरोप लगाए। उनले पन्तका हत्यारा पत्ता नलगाए सरकारविरुद्ध कडा कदम चाल्ने चेतावनी पनि दिए।
महामन्त्री शशांक कोइरालाले पार्टी नेतृत्व हस्तातरण गर्न सभापति देउवासँग आग्रह गरे। उनले पार्टीलाई एकतावद्ध बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै त्यसको नेतृत्व गर्न पनि सभापति देउवाको ध्यानाकर्षण गराए। महामन्त्री कोइरालाले कम्युनिष्ट नेतृत्वको सरकारको सर्वसत्तावादलाई परास्त गर्न पनि पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प नरहेको स्पष्ट पारे।
महामन्त्री कोइरालाले पार्टीलाई एकतावद्ध बनाउन आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। पार्टीलाई अघि बढाउन गुट, उपगुट अन्त्य गरेर अघि बढ्नुको विकल्प नरहेको महामन्त्री कोइरालाको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।