धनगढी– राष्ट्रिय बाल दिवस अर्थात बालबालिकाको हक अधिकार सुनिश्चित भएको दिन। शुक्रबार देशभरका बालबालिकाहरु विभिन्न कार्यक्रममा सरिक हुँदै बाल दिवस मनाउन व्यस्त थिए। तर, कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखाम खोल्टीकी मनिषा पन्तलाई भने बाल दिवसकाे कुनै उमंग थिएन, अनुहारमा चमक थिएन। थियो केवल शोकमा डुबेका आँखामा मात्र बहिनीको न्यायका लागि गरिएको याचना र प्रश्न थियाे।
बलात्कारपछि हत्या गरिएकी बहिनी निर्मलाको संझनामा गएको ५० दिनदेखि मनिषाको दैनिकी कुहिरोमा हराएको कागजस्तै गरी बित्ने गरेको छ। त्यसमाथि यत्रो समयसम्म बहिनी निर्मलाको हत्यारा पत्ता नलाग्नुले उनलाई थप कमजोर बनाएको छ। कलिलै उमेरमा बहिनी गुमाउनुको पीडा त छँदै छ, त्यसमाथि बहिनीसँग झगडा गरेको, सँगै सुतेको, खेलेको लगायतका झझल्को आइरहँदा उनी थप विक्षिप्त हुने गरेको बताउँछिन्। ‘बहिनीको असाध्यै याद आउ“छ। उसको सम्झना आयो की आ“खाबाट आँशु झर्छ। न केही खान मन लाग्छ, न काम गर्न जाँगर नै चल्छ।’, मनिषाले भनिन्।
बहिनी जुन अवस्थामा भेटिएकी थिइन्, त्याे अवस्था सम्झिँदा मनिषा आफ्नो बहिनीको हत्या नै गरिएकाे भन्नेमा ढुक्क छिन्। तर, उनलाई अनुसन्धानको प्रक्रियाबारेमा त्यती जानकारी छैन। २ महिना पुग्दै लाग्दा पनि सरकारले दोषी पहिचान गर्न नसकेकोमा उनको मनमा बरोबर प्रश्न भने उठ्ने गरेको छ। भन्छिन्, ‘बहिनीको हत्यारा कहिले पत्ता लाग्छ? किन सरकारले हाम्रो कुरा नसुनिरहेको होला?’
मनिषाका बुवाआमा छोरीको न्यायको लागि थप दबाव दिन हाल काठमाडौंमा छन्। निर्मलाका हत्यारालाई पक्राउको माग गर्दै अधिकारकर्मीदेखि आम सर्वसाधारणले पनि आफ्नो तर्फबाट आवाज उठाइरहेका छन्। तर, प्रहरी दोषीसमक्ष पुग्न सकेको छैन।
आज बाल दिवसकै अवसरमा भीमदत्त नगरपालिका–२ को एकता बाल क्लबले पनि बालगीत प्रतियोगिताको आयोजना गर्यो। तर, सो कार्यक्रम पनि यसै घटनाको प्रभावबाट मुक्त हुन सकेन। त्यसमाथि प्रतियोगितामा निर्मलाकी दिदीले बहिनीको न्यायका लागि देउडा गीत गाएपछि माहोल एकाएक भावुक बन्न पुग्यो।
‘पहाडका वनभरी पाकेका किरमडा।
कहिले न्याय पाउने होला, मेर बहिनी निर्मला।
अहो काल भैदियो कमाउन आउ भन्या बेला अहो काल भैदियाे
पापीले लैदियो स्कुल पढन्या बेला पापीले लैदियो।
जन्म दिने मेरी आमा रुन्छिन् आँशु झारी।
तेरा काल लैजान लाइछ त्यो लिखुकी बारी।’
साउन १० गते मनिषा साथीको घरमा जानुअघि निर्मलालाई भनेकी थिइन्, ‘म नआउँदा सम्म कतै नजानु है।’, मनिषाले बहिनीसँगको अन्तिम वार्तालाप सम्झिँदै भनिन्, ‘तर, म घर आउनुभन्दा अगाडि नै निर्मला साथी रोशनीको घर गइसकेकी रहिछ।’ उनले त्यस दिनभर आमाले बहिनी निर्मलालाई धेरैतिर खोजेको बताइन्।
‘आमाले रोशनीको घरमा गएर पनि बहिनी (निर्मला)लाई भेटिनन्। पछि ठाउँ–ठाउँमा पुगेर खोजी कार्य गरिदिन भनी गुहार मागिन्। तर, कतैबाट सहयोग भएन्।’ केहीबेर अवाक् मनिषा पुनः संवादमा जोडिइन्, ‘भोलिपल्ट उखुबारीमा बहिनीको लास भेटियो।’
बहिनीको बलात्कारपछि हत्या भएको घटनाले हिजोआज आफू पनि त्रसित भएको बताउँछिन् मनिषा। ‘पहिले कहिलेकाँही साथीहरुको घर जान्थे, अहिले त जान डर लाग्छ।’ घटनापछि उनको कक्षाकोठामा पनि व्यवहार परिवर्तत भएको छ। न त घरमा आएर नै पढ्नतर्फ मन जान्छ। भन्छिन्, ‘पढ्दा बहिनीको सम्झना आउ“छ। संगै स्कुल गएको, घर फर्किएको याद आउँछ। मन लगाएर पढ्न सकिरहेको छैन।’
निर्मला र मनिषाकी आमाले काठमाडौं आएपछि नेपाल लाइभसँग कुराकानी गर्दै छोरीले न्याय पाएको हेर्ने इच्छा रहेको बताएकी थिइन्। आमाको यसै भनाइमा आफ्नो पनि सहमति राख्दै मनिषा भन्छिन्, ‘बहिनीको त्यति विभत्स ढंगले हत्या गर्ने को होला? बस्, त्यसलाई कारबाही भएको हेर्ने मन छ।’
उमेरले निर्मलाभन्दा मनिषा मात्र २ वर्षले जेठी छिन्। घरमा भान्साको कामदेखि हरेक क्रियाकलापमा हातेमालो गर्ने दिदीबहिनी एकआपसमा अत्यन्तै मिल्थे। तर, निर्मलाको हत्यापछि अहिले मनिषा एक्लो भएकी छिन्। भन्छिन्, ‘बहिनीको साथ र माया त गुम्यो–गुम्यो, त्यसमाथि सरकारको व्यवहारले हामीलाई झनै एक्लाे बनाइदिएको छ।’
निर्मलाकी दिदीले बहिनीलाई सम्झिँदै गाएकाे देउडा गीतकाे पुरा भिडियाे:
(भिडियाे : दिनेश खबर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।