काठमाडौं– सरकारले आगामी एक वर्षभित्र भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पहिलो तला पुनर्निर्माण गर्ने लक्ष्य लिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले काष्ठमण्डप पुनर्निर्माणमा हालसम्म भएका कार्यप्रगतिको समीक्षा गर्दै २०७६ असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तला पुनर्निर्माण गरिसक्नेगरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ।
शुक्रबार समितिका संयोजक एवम् तीन नम्बर प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले काष्ठमण्डपको काम योजनाबद्ध ढंगले यथाशीघ्र अघि बढाउन निर्देशन दिए।
समितिका संयोजक शाक्यले पुनर्निर्माणलाई अघि बढाउन पुरानो डिएसपी कार्यालय रहेको स्थानमा काठको ‘वर्कसप’ सञ्चालन भएको र इन्द्रजात्रालगत्तै अर्को ठूलो ‘वर्कसप’ स्थापना गरी सञ्चालन गरिने जानकारी दिए।
संयोजक शाक्यले काष्ठमण्डप पुनर्निर्माणमा प्रयोग गरिने सामग्रीको परीक्षण गरिएको र आगामी दिनमा पनि युनेस्को र पुरातत्व विभागको मापदण्ड अनुरुपनै परीक्षण गरिने बताए।
काण्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक सबै रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउनेछ भने पुरातत्व विभागबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।