काठमाडौं– बबरमहस्थित आफ्नै निवासमा चक्कु प्रहार गरी हत्या गरिएका पूर्व राजदुत केशव झाको हत्या प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका माली र सुरक्षागार्डहरु धरौटीमा रिहा भएका छन्।
उनीहरुको संलग्नता पुष्टि गर्ने भरपर्दो आधार र प्रमाण प्राप्त नभएकाले आवश्यक परेका समयमा उपस्थित हुने गरी जनही ८ हजार रुपैयाँमा रिहा गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले बताए।
सुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाल्दै झाको घरमा सुरक्षागार्डको काम गर्दै आएका सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो।
बुधबार उनीहरुलाई प्रहरीले धरौटीमा रिहा गरेको थियो। अनुसन्धानको क्रममा तिनै जनाको संलग्नता पुष्टि हुन नसकेपछि उनीहरु छुटेका हुन्।
महानगरीय प्रहरी अपराध महाशाखाले २४ दिन हिरासतमा राखेर सानुकान्छा, आइतसिंह र जय बहादुरबारे अनुसन्धान गरेको थियो। पूर्व राजदुत झाको हत्यामा उनिहरुको संलग्नता पुष्टि गर्न नसकेपछि प्रमुख जिल्ला अधिकारीले उनीहरुलाई जनही ८ हजार धरौटी लिएर छाड्न आदेश दिएका हुन्।
उनीहरुलाई यसअघि सार्वजनिक अपराध अन्र्तगत मुद्दाका लागि म्याद थप गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।