काठमाडौं– साफ सुजुकी कप २०१८ पनि नेपालका लागि फलदायी हुन सकेन। सेमिफाइनल सम्मको यात्रालाई औसत नतिजाको रुपमा लिदै चित्त बुझाउनु पर्ने अवस्था रह्यो। तर नेपाल असफल पनि भएको भने होइन । उपाधि जित्ने यात्रामा नेपाली सधैं सबै टिमसामू चुनौती पेश गर्न सक्ने टिम हो।
माल्दिभ्स र नेपाल बीचको खेलको समीक्षा धेरै बनावटी गर्नु जरुरी छैन। किनकी हारको कारण स्पष्ट देखिएको छ।
१. हामी उपाधिको दबावमा खेल्यौ। माल्दिभ्सले खेल जित्नका लागि खेल्यो।
२. उनीहरु गोलका लागि खेल्दै थिए, हामी जित्नका लागि खेल्दै थियौं।
३. शारीरिक रुपमा उनीहरुको प्रदर्शन बलियो थियो, हामी केहि फितलो देखियौं।
४. उनीहरुमा टिम स्पिरिड देखियो, हाम्रो तालमेल मिलेको देखिएन ।
५.सुमन अर्यालको साटोमा सुजल श्रेष्ठ वा रोहित चन्दलाई नै रिप्लेस गर्नु जायज हुनसक्थ्यो। स्ट्राइकरमा विमल घर्तीमगर चल्न सकेका थिएनन। विशेष गरेर अन्जन विष्ट र विशाल राई उत्कृष्ट खेलाडी हुँदाहुँदै पनि मौसम र मैदानमा फिट हुन असहज हुने खेलाडी थिए । देवेन्द्र र हेमन रिप्लेस हुँदा अझ प्रभावकारी हुन सक्थ्यो। पानी र थकानमा 'पावर प्ले' आवश्यक हुन्छ भन्ने मान्यता विश्वव्यापी मान्यता हो।
नेपाल साफ सुजुकी कपबाट बाहिरिए पनि नेपालले सिक्नु पर्ने धेरै कुराहरु लिएर बंगलादेशबाट फर्किएको छ। किनकी एकाध जित वा उपाधि मात्र पनि नेपाली फुटबलको सपना होइन। जितेर आएको मनोविज्ञान र हारेर आएको मनोविज्ञानबाट मात्र नेपालको फुटबल अगाडी बढ्न सक्दैन।
नेपालको सबल पक्ष
१. नेपालका खेलाडीले आफ्नो क्षमताअनुसार खेल्ने मात्र नभइ फरकफरक पोजिशन खेल्ने हिम्मत पनि देखाएका छन्। मोर्डन फुटबलको यो यात्राको शुभरम्भ नेपालले गरेको छ ।
२.नेपाली प्रशिक्षक पनि क्षमता नभएका होइनन भन्ने मान्यतालाई यस पटक बंगलादेशमा प्रस्तुत गरेको छ ।
३. नेपाली फुटबलको माया केबल एन्फालाई मात्र होइन संसारभर रहेका नेपालीलाई छ भन्ने प्रमाण माल्दिभ्ससँगको पराजय पश्चात पनि बंगबन्धु रंगशालामा नेपालको पक्षमा लागेका नाराले स्पष्ट बताइरहेको थियो । हारमा समेत फ्यानले साथ दिइरहेको छन्, यो नेपालको सबैभन्दा ठुलो सम्पती हो।
नेपालको दुर्बल पक्ष
१.प्रतियोगिताको केहि दिन अघिसम्म प्रशिक्षकका विषयमा देखिएको तनाव, खेलाडीको व्यवहारका कारण एन्फा व्यवस्थापनमा परेको मनोवैज्ञानिक समस्या साफ सुजुकी कप २०१८का लागि बाधक बन्यो ।
२.नेपाली टिम प्राविधिक रुपमा कमजोर देखियो। राष्ट्रिय प्रतियोगिताहरुमा अब्बल मानिएका खेलाडीहरुले मैदानमा आफूलाई अब्बल साबित गर्न पाएनन ।
३.'पोजिसन प्ले'लाई निरन्तरता दिएको भए नतिजा नेपालको पक्षमा आउने सम्भावना बढी देखिनथ्यो। तर, त्यसो हुन सकेन ।
४.नेपालको टिममा केहि व्यवस्थापन पक्षको कमजोरी स्पष्ट देखियो, पोष्ट म्याच पत्रकार सम्मेलनदखि माल्दिभ्ससँगको खेलमा खेलाडी पोशाक लगायतका विषयहरुमा ध्यान दिन सकिएन।
५.नेपालले आफ्नो मनोविज्ञानबाट अन्य राष्ट्रलाई डोमिनेट गर्न सकेन। अन्य राष्ट्रका प्रशिक्षकले हामीलाई डोमिनेट गरेको पाइन्थ्यो । जस्तै, हामी फाइनल नेपालसँग खेल्ने हो भारतीय प्रशिक्षक स्न्टेफन । नेपाल एकदमै बलियो टिम हो, तर हामी चमत्कार गरेर फाइनल पुग्छौ – माल्दिभ्सका प्रशिक्षक पिटरको भनाइ।
६.नेपाली खेलाडीहरु ९० मिनेटको लागि शारीरिक रुपमा पूर्णत फिट छैनन कि भन्ने पनि देखिएको छ।
७.नेपाली फुटबल व्यवस्थापन पक्ष, प्रशिक्षक र खेलाडीहरुमा 'मिडिया फेन्ड्ली' भन्दा 'मिडिया फियर' भएको जस्तो देखिन्छ।
यति विश्लेषण गरेपछि नेपाली फुटबल नतिजाको लागि भन्दा पनि पहिला आफ्नो स्तरबृद्धिमा लाग्नु हितकर हुन्छ। प्रतियोगितामा सहभागी भएर पराजित मानसिकता लिएर कार्य गर्नु भन्दा स्तरबृद्धि गरेर 'वाह' खेल खेल्नु वर्तमान नेपाली फुटबलका लागि हितकर हुनसक्छ ।
(यो लेखकको निजी विचार हो।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।