काठमाडौं– नेपाली फिल्म क्षेत्रकी व्यस्त नायिका हुन् नीता ढुंगाना। फिल्म, म्युजिक भिडियो र विभिन्न विज्ञापनमा उनको अभिनय देख्न सकिन्छ। उनको डेब्यु अभिनय रहेको फिल्म हो ‘मितिनी’। सन् २००३ जनवरीबाट प्रदर्शनमा आएको फिल्म ‘मितिनी’की बाल कलाकारका रुपमा नीताले अभिनय गरेकी थिइन्।
पछिल्लो पुस्ताका दर्शकमाझ कमैलाई थाहा हुन सक्छ चर्चित गीत ‘नरिसाउ मितिनी ज्यू...’ मा अभिनय गर्ने बाल कलाकार अहिलेकी व्यस्त अभिनेत्री नीता ढुंगाना हुन् भनेर। फिल्ममा नीता कलाकार सन्तोष पन्तकी छोरी ‘ज्योतीमैयाँ’को भूमिकामा प्रस्तुत छिन्। उनै ज्योतीमैयाँ शुक्रबारबाट २६ वर्ष लागिन्।
बाल्य अवस्थादेखि नै अभिनयको संसारमा जीवन जिउने सपना देखेकी नीताले हालसम्ममा २ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन्।
उनको अभिनय रहेको पछिल्लो समय प्रदर्शनमा आएको फिल्म हो ‘पञ्चायत’। यसपछि भने नीताको अभिनय रहेका फिल्महरु प्रर्दशनमा आएका छैनन्। फिल्ममा नेदेखिए पनि म्युजिक भिडियो, विज्ञापन र विभिन्न कार्यक्रममा उनको व्यस्तता बढ्दो छ। नीताको दसैंपछिको समयतालिका अझ धेरै व्यस्त छ। उनले फिल्म ‘कर्मा’, ‘रियल रिङरेट’, ‘करोडपति’ र ‘रेस’मा अभिनयका लागि सम्झौता गरिसकेकी छन्।
फिल्मको व्यावसायिक पाटोभन्दा पनि कथाले मागेको भूमिकालाई न्याय गर्ने रुचि छ नीतामा । उनको अभिनयमा रहेका फिल्ममध्ये ‘किसान’, ‘मसान’, ‘नोटबुक’,‘छ एकान छ’,र ‘पञ्चायत’ उनको करिअरमा अर्थ राख्ने फिल्महरु हुन्। यी फिल्मबाट अभिनय यात्रामा निरन्तर रहिरहन ऊर्जा मिलेको छ उनलाई। भन्छिन्,‘मैले सानो हुँदा देखेको अभिनय यात्राको सपनामा म रमाइरहेकी छु र सन्तुष्ट पनि छु। मैले गरेको काम र पाएको सम्मान र हौसलाले यो क्षेत्रमा अझ धेरै गर्न बाँकी छ जस्तो लाग्छ।’
उनले १५ वर्ष लामो अभिनय यात्रामा विभिन्न अवार्ड हात पारिसकेकी छन्। तर अहिलेसम्म पाएका २ अवार्डले भने उनलाई थप ऊर्जा थपिरहन्छन्। ‘मैले अवार्डहरु त धेरै पाएँ होला तर फिल्म ‘मसान’बाट प्राप्त ‘नेसनल फिल्म अवार्ड’ र अमेरिकामा ‘पञ्चायत’ लागि ‘सान् फ्रान्सिस्को फिल्म फेस्टिभल’बाट पाएको ‘बेष्ट लिडिङ एक्ट्रेस’अवार्ड नै मस्तिष्कमा आइरहन्छ,' उनी सुनाउँछिन्।
२६औं जन्मदिन मनाइरहँदा नीता सबै कुरामा सन्तुष्ट देखिए पनि जन्म दिने आमाको यादले भने उनलाई पिरोल्ने गरेको छ। ‘सबै कुराले भरिपूर्ण छु तर केही वर्षअघि नै आमाले छोडेर जानुभयो, यसले भने केही अभाव भएको महसुस हुन्छ,’ जन्म र मृत्युको प्राकृतिक नियमसँग सहमत उनी थप्छिन्,‘जीवन आइपर्ने हरेक कुरालाई स्विकार्दै मन सम्हाल्ने गरेकी छु।’
नीतासँग भविष्यका लागि त्यति ठूलो सपना छैन। भन्छिन्, ‘भविष्य कसैलाई थाहा हुन्न। त्यसैले म भूतलाई बिर्सेर वर्तमानमा रमाउन चाहन्छु। किनकि जीवन एक सुन्दर संसार हो। यही संसारलाई सार्थक बनाउने मेरो लक्ष्य हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।