पोखरा– जिल्ला कारागार कास्कीमा दुई भिन्न ब्लकमा कैदी तथा थुनुवा बस्छन्। विभिन्न आरोप र मुद्दामा जेल जीवन बिताइरहेका उनीहरुको दैनिकी र समय कटानको माध्यम क्यारम बोर्ड र केही पत्रपत्रिका थियो। २०२१ सालमा पुस्तकालय खुल्यो, केही पुस्तक पाइन थाले। तर, खोजे जस्तो र धेरै भने होइन। त्यहाँ पुस्तकको अभाव थियो। कैदी तथा थुनुवा खोजेको पुस्तक नपाउँदा दिक्क थिए।
लामो समयदेखि पुस्तकालयमा काम गरिरहेका खिम लामिछाने काजीले कारागारमा पुस्तकालयको अभावबारे बुझे। त्यहाँ जसरी पनि नयाँ बौद्धिक खालका पुस्तक पुग्नुपर्छ भन्ने उनलाई लाग्यो र सामाजिक सञ्जालमा ‘पुस्तक संकलन अभियान’ सुरु गरे। भन्छन्, ‘कारागारमा गएर बुझ्दा पुस्तकको अभाव रहेछ भनेर जानेँ, कैदी तथा थुनुवाले पनि विभिन्न किताब पढ्न पाउनुपर्छ भन्ने लागेरै अभियान सुरु गरेँ।’
पुस्तक संकलनका अभियन्ता काजी पहिले र अहिले पठनपाठनको संस्कार फेरिएको बताउँछन्। ‘कुनै दिन पुस्तकालय खोल्नेलाई जेल कोचिन्थ्यो। अहिले जेलभित्रै पुस्तकालय खोल्ने कुरा सुनेर पुस्तक संकलन गर्न हौसिएको हुँ,’ उनी भन्छन्। आगामी दिनमा अझ बढी पुस्तक संकलन गरी कारागार तथा पुस्तकविहीन पुस्तकालयलाई वितरण गर्ने लक्ष्य उनको छ।
केही दिनअघि मात्रै विभिन्न व्यक्ति तथा संघसंस्थाले दिएका पुस्तक काजी र अर्का अभियान्ता सुदर्शन रञ्जित मिलेर पुस्तकालयलाई हस्तान्तरण गरे।
कारागारमा जेल जीवन बिताएर पनि आफूले खोजेको किताब पढ्न पाउने भएपछि त्यहाँ रहेका कैदी तथा थुनुवा खुसी छन्।
‘खाली समय के गर्ने त? पढम् भने केही हुँदैनथ्यो। त्यही भएर पत्रपत्रिकाको सुरुदेखि अन्तिमसम्मका विज्ञापन पनि पढेर सक्थ्यौं,’ एक कैदी सुनाउँछन्, ‘अहिले पुस्तकालयमा खोजेको किताब पाउँदा खुसी छौं।’
सामाजिक सञ्जाल फेसबुकको सदुयोग गरेर अभियान चलाएका काजीलाई साथ दिन आइपुग्यो, सरिता गुरुङ फाउन्डेसन। फाउन्डेसनले कारागारको पुस्तकालयका लागि १० हजार रुपैयाँ बराबरको पुस्तक नि:शुल्क अभियानलाई दिएको छ।
‘फाउन्डेसनले काठमाडौंबाट नै धेरै किताब किनेर पठाइदिएको छ,’ काजी भन्छन्।
फेसबुक अभियानमार्फत संकलन भएका करिब २ सय पुस्तक कारागार रेखदेख गर्ने नाइके रामप्रसाद पाण्डेलाई हस्तान्तण गरिएको छ। संकलित पुस्तक पत्रकार मोहन मैनाली, पोखरा सार्वजनिक पुस्तकालय, सरिता गुरुङ फाउन्डेसन, रिना पौडेल, भुवन क्षेत्री, शीतल थापा महर्जन आदिले उपलब्ध गराएका हुन्।
कैदी रामप्रसाद पाण्डेले सडक दुर्घटनामा परी मृत्यु भएका छोरा दीपक पाण्डेको स्मृतिमा कास्की कारागारभित्र पुस्तकालय भवन निर्माण गरेका हुन्। ‘छोरा दीपक पाण्डे सडक दुर्घटनामा गुमाएँ, उसको सम्झनामा पुस्तकालय खोलेको हुँ,’ उनी भन्छन्। उनी अहिले जेलभित्रको नाइके र पुस्तकालय रेखदेखको जिम्मेवारीसमेत पाएका छन्।
कारागारको पुस्तकालयमा खोजे जस्तो पुस्तक पाइने भएपछि कैदी तथा थुनुवामा सकारात्मक परिवर्तन आउने जेल इन्चार्ज हरिप्रसाद गौतम सुनाउँछन्। ‘जेल भनेको सुधार गृह हो। यस्ता पुस्तकहरुले कारागारमा बन्दी जीवन बिताइरहेका कैदी बन्दीहरुको जीवनमा सुधार गर्न थप प्रेरणा मिल्छ,’ उनी भन्छन्। कैदी भएर पनि असल नागरिकमा परिवर्तन हुन अध्ययन आवश्यक भएको इन्चार्ज गौतमले बताए।
कारागारमा अहिले १ सय ३ जना पुरुष, १२ जना महिला थुनुवा र कैदी महिला पुरुष गरेर ७ सय १९ जना छन्। कारागारमा २६ जना विदेशी नागरिक रहेको कास्की कारागार व्यवस्था विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।