काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला, प्रदेश र जनवर्गीय संगठनहरुको एकता प्रक्रिया लम्बिने भएको छ। बुधबार र बिहीबार बसेको सचिवालय बैठकले एकता प्रक्रियाको खाका तयार गर्न नसकेपछि एकता प्रक्रिया टुंगाउने अधिकार अध्यक्षद्वयलाई दिइएको थियो।
स्थायी समिति बैठकका एजेन्डा तय गर्नका लागि दुई दिन बसेको बैठक अन्ततः सर्वाधिकार दुई अध्यक्षलाई जिम्मेवार दिएर टुंगिएको छ।
सचिवालय बैठकले गरेका निर्णय स्थायी समितिबाट अनुमोदन गर्ने प्रचलन रहेको छ। तल्लो तहमा पार्टी एकीकरणले मूर्त रुप लिन नसकेपछि सचिवालयको बैठक डाकिएको थियो। स्थायी समितिमा पेस गर्ने सांगठनिक एकताको प्रक्रिया टुंगाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए। अध्यक्षद्वयले आवश्यक महसुस गरेमा कार्यदलका संयोजकहरुसँग पनि छलफल गर्ने बताइएको छ।
एकता प्रक्रियाको प्रस्ताव तयार गर्न दुई अध्यक्षलाई जिम्मेवारी दिइए पनि शुक्रबार बस्ने भनिएको बैठक बस्न सकेको छैन। प्रधानमन्त्री तथा नेकपामा एक अध्यक्ष केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीले अध्यक्ष दुईको बैठकका लागि शुक्रबारको लागि समय निश्चित भइनसकेको बताए।
शुक्रबार एकताको प्रस्ताव तयार हुन नसके एकता प्रक्रिया दुई साता लम्बिने देखिएको छ। शनिबार प्रचण्ड चीन जाँदैछन् भने असोज ६ मा प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा अमेरिका जाने कार्यक्रम छ। चीनबाट प्रचण्ड असोज ४ मा स्वदेश फर्कनेछन्।
निर्वाचनमा विजयी भएकालाई पार्टीका संगठनहरुको नेतृत्वमा जिम्मेवारी नदिने यसअघिको मापदण्डमा विवाद देखिएपछि नयाँ विधि तय गर्ने बताइएको छ। जिल्लाहरुमा नेतृत्वको नामसँगै विवादहरु पनि सँगै आएपछि नयाँ मापदण्ड बनाउन लागिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।