हेपाटाइटिसबारे जान्नैपर्ने केही तथ्य

डा दिलिप शर्मा

Nepal Live

मानव शरीरको महत्वपूर्ण अंगमध्ये कलेजो पनि एक हो । कलेजोमा ‘हेपटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपटाइटिस भनिन्छ । कलेजोलाई दुई प्रकारको भाइरसले असर गर्छ। एउटा ‘हेपटोट्रोपिक’ र अर्को ‘नन–हेपटोट्रोपिक’ । हेपटोट्रोपिक भाइरसअन्तर्गत हेपाटाइटिस ‘ए, बी, सी, डी र ई’ पर्दछन् । यसले कलेजोलाई मात्र असर गरेपनि शरीरका अन्य भागमा दीर्घकालीन असर पुर्‍याउँदैंनन् । नन–हेपाटोट्रोपिक भाइरसअन्तर्गत ‘हर्पिस सिम्लेक’ र ‘इब्स्टेनवार’ भाइरस पर्दछन् । यिनले भने कलेजोकासाथै शरीरका अन्य भागलाई पनि असर पुर्‍याउँछन् ।

भाइरल हेपटाइटिस ए, बी, सी, डी र ईलाई दुई समूहमा बाँडिएको हुन्छ । पहिलो समूहमा ‘ए र ई’ पर्छन् । यो बिशेषगरी प्रदुषित पानी तथा खानेकुराबाट सर्छ । यसले तुरून्त असर गरेपनि दीर्घकालीन असर भने गर्दैन ।

अर्को समूहमा बी, सी र डी पर्छन्। यो रगत, रगतजन्य पदार्थ, सिरिन्ज, शारीरिक तरल पदार्थ वा आमाबाट बच्चामा सर्छ । यो दीर्घकालीन प्रकृतिको पनि हुन्छ र कलेजोलाई असरसमेत गर्छ । हेपाटाइटिस बी एचआइभी/एड्सभन्दा पनि खतरनाक भनेर प्रचार गरिएपनि शरीरको प्रतिरोधात्मक क्षमताका कारण ९० प्रतिशत वयस्क मानिसमा ६ महिनाभित्र आफै‌ँ निको भएर जान्छ । बाँकी १० प्रतिशतमा यसले नरम कलेजोलाई कडा पार्दै लान्छ । जसलाई ‘लिभर सिरोसिस’ भनिन्छ । लिभर सिरोसिस भएर पछि क्यान्सर हुने संभावना हुन्छ ।

हेपटाइटिस भयो भने जण्डिस देखिन्छ । यस्तो हुँदा मुख बार्ने, जडिबुटीको प्रयोग गर्ने, नाइटोमा लेप लगाउने जस्ता काम गरिन्छ । तर, मुख बार्दा पोषणको कमी हुन्छ । जसका कारण रोगसँग लड्ने क्षमतामा ह्रास आउन सक्छ । सरकारले जनचेतनामुलक कार्यक्रममार्फत् खानाप्रतिको धारणाबारे आमसमुदायलाई स्पष्ट पार्नु जरूरी छ ।

जण्डिस रोग होइन । यो रोगको लक्षण मात्र हो । उपचार गरेर त्यसको निदान गर्नुपर्छ । यसबारेमा हामीले न बिरामीलाई राम्ररी बुझाउन सकेका छौं, न त उनीहरूका परिवारलाई । सरकारले यसतर्फ ध्यान दिन जरूरी छ ।

हेपाटाइटिसबाट हरेक वर्ष संसारभर १५ लाख व्यक्तिको मृत्यु हुने गरेको छ । यो संख्या एचआइभी/एड्सबाट हुने मृत्यु बराबर छ । एचआइभी/एड्सलाई सरकारी तथा गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय दातृ संस्थाहरूले जति महत्व दिएका छन्, त्यति हेपाटाइटिसलाई महत्व दिएको पाइदैंन । संसारमा ‘मेडिकल डिजिज’ मा मानिसको ज्यान लिने रोगमध्ये आठौं ठुलो रोग भाइरल हेपाटाइटिसलाई नेपालमा खासै महत्व दिएको पाइदैंन । अविकसित राष्ट्रमा मात्र होइन विकसितमा पनि यसलाई महत्व कम दिएको पाइन्छ । सरकारले हेपाटाइटिसलाई जनस्वास्थ्य कार्यक्रममा राखेर ग्रामीण स्वास्थ्य चौकीदेखि चिकित्सकसम्म तथा जनस्वास्थ्यसँग चासो राख्ने हरेक व्यक्तिलाई यसको रोकथाम, सर्ने माध्यम तथा उपचारलगायतबारे ज्ञान दिन जरूरी छ । आठौं ठुलो रोग भएपनि मानिसले धेरै चासो नदेखाएका कारण विश्व स्वास्थ्य संगठनले संसारको हेपाटाइटिसप्रतिको धारणा बदल्न र यस रोगबाट पर्ने आर्थिकभारको चेतना जगाउन विश्व हेपाटाइटिस दिवस मनाउन सुरु गरेको छ ।

हरेक वर्षको जुलाई २८ का दिन हेपाटाइटिस दिवस मनाउने गरिन्छ । जनचेतनामार्फत् हेपाटाइटिस भैसकेका व्यक्तिले कसरी सावधानी अपनाउने र नभएकाले कसरी यसका विरूद्धमा खोप लगाउने भन्ने बारे बुझाउनु पर्छ ।

अहिले पनि धेरै व्यक्तिमा हेपाटाइटिसका बारेमा चेतनाको अभाव छ । हेपाटाइटिसका कारण लिभर सिरोसिस तथा लिभर क्यान्सर हुन्छ भन्ने कुरा कतिपयलाई थाहा छैन । लिभर क्यान्सर दोस्रो ठुलो डरलाग्दो क्यान्सर हो । हेपाटाइटिसको रोकथाम गर्न सके ठुलो जनधनको क्षति हुनबाट बचाउन सकिन्छ । सबै हेपाटाइटिसको खोप उपलब्ध छैन । हेपाइटिस ए र बी को मात्र खोप उपलब्ध छ । हेपाटाइटिस बी को खोप लगाउन सकेमा दीर्घकालमा हुने क्षतिबाट बचाउन सकिन्छ ।

केही व्यक्तिमा हेपाटाइटिस एचआइभी\एड्सभन्दा पनि डरलाग्दो रोग हो भन्ने भ्रम छ । त्यसैले यसलाई लुकाउने गरिन्छ । तर, यो रोग लाग्दैमा हात मिलाउन नहुने, सँगै बस्न नहुने, एउटै ओछ्यान प्रयोग गर्न नहुने भन्ने होइन । हेपाटाइटिसको भाइरस धेरै समयसम्म बाँच्ने हुनाले डरलाग्दो भनिएको हो । हेपाटाइटिसले कलेजोलाई मात्र असर गर्छ । समस्या देखिइसकेपछि यसलाई लुकाउनु भन्दा पनि समाधानतिर लाग्नुपर्छ ।

हेपाटाइटिसलाई निको पार्न पनि सकिन्छ । विश्वमा हेपाटाइटिसलाई महत्व नदिइरहेको अवस्थामा नेपालमा पनि सरकार हेपाटाइटिस बी र सी को जोखिमप्रति निकै उदास देखिन्छ । कलेजोका दीर्घ रोगीहरू दिनहुँ वृद्धि भइरहेको आजको समयमा स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य कार्यक्रममा हेपाटाइटिस बी र सीप्रतिको चेतना अभियान चलाउनुपर्ने अवस्था आएको छ । जनचेतनाको कमी भएका कतिपय ठाउँमा मानिसहरू हेपाटाइटिस भएका बिरामीलाई छुन रुचाउँदैनन् । तर, हेपाटाइटिस छोएर सर्ने रोग होइन । आममानिसमा हेपाटाइटिस कसरी सर्छ भन्ने नै थाहा छैन । विशेषगरी, यो रगत तथा शरीरको तरल पदार्थबाट सर्ने गर्छ ।

हेपाटाइटिस बी र सी लाग्यो भने पछि गएर उपचार महंगो पर्छ । यो हेपाटाइटिस बीको औषधि २ वर्ष या जीवनभर पनि सेवन गर्नुपर्ने हुन सक्छ । जसका कारण आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई यसको खर्च धान्न मुस्कील पर्न सक्छ ।

हेपाटाइटिसमा ‘टेनोफोवीर’ नामक औषधिको प्रयोग हुन्छ । यो औषधि एचआइभी÷एड्सका बिरामीमा पनि प्रयोग हुन्छ । टेनोफोवील एचआइभीका बिरामीलाई सरकारले निःशुल्क प्रदान गर्दै आएको छ । जबकि एचआइभीसँगै बराबर मृत्यु हुने हेपाटाइटिसमा सरकारले चासो दिएको छैन ।  हेपाटाइटिस बी मा न्यूनआय भएका बिरामीलाई पनि टेनोफोवीर निःशुल्क दिइदैंन । त्यसकारण नेपाल सरकारले हेपाटाइटिस बी भएर उपचार गर्न नसक्ने व्यक्तिलाई भविष्यमा लिभर सिरोसिस र क्यान्सर हुनबाट बचाउन निःशुल्क टेनोफोवीर उपलब्ध गराउनु पर्छ ।

नेपालमा हेपाटाइटिस बी र सी का बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन । करिब २ प्रतिशत अर्थात् ६ लाखको हाराहारीमा हेपाटाइटिस बी र एक लाख हेपाटाइटिस सी का बिरामी भएको अनुमान छ । तर सरकारको तथ्यांकमा  ५८ हजार मात्र बिरामी देखिएका छन् । यो तथ्यांक पूरानो भएकाले सरकारले नयाँ सर्भे गरेर हेपाटाइटिस बीका बिरामी संख्या तथा हेपाटाइटिस बीले गर्दा लिभर सिरोसिस र क्यान्सर भएका बिरामीको तथ्यांक राख्नुपर्छ ।
यदि हेपाटाइटिस बी भयो भने टेनोफोवीर औषधिको सेवनमा महिनामा ३ हजार खर्च हुन्छ । यदि लिभर क्यान्सर भयो भने सरकारले उपचारका लागि एक लाख रूपैयाँ दिने गरेको छ । तर हेपाटाइटिस बी को अवस्थामा उसलाई टेनोफोवीर निःशुल्क दिन सकिए उसको जीवनको गुणस्तर पनि राम्रो हुने र क्यान्सर विनाको जीवन जिउन सक्छ ।

सबै बिरामीलाई सरकारले टेनोफोवीर निःशुल्क उपलब्ध गराउन सक्दैन भने न्युनआय भएका बिरामीको पहिचान गरि सुविधा दिनुपर्छ । हेपाटाइटिस भएका बिरामीलाई स्वास्थ्यकर्मीले पनि त्यति चासोका साथ नहेर्ने भएकाले स्वास्थ्यकर्मीको पनि धारणा परिवर्तन गर्नुपर्छ । समाजमा यस रोगलाई नकारात्मक रूपमा लिने गरिन्छ । त्यसैले सरकारले अभियान नै चलाएर हेपाटाइटिसबारे जनचेतना फैलाउनु नितान्त आवश्यक छ ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार