काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार १४ वटा चोरीका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार बिहान चोरीका १४ वटा मोटरसाइकल खोजी गरी रामशाहपथस्थित कार्यालयबाट सम्बन्धित सवारी धनीलाई बुझाएको हो। काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट हराएका १४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बोलाएर बुझाइएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए। उनले मोटरसाइकल हराउन नदिन सचेत रहन पनि पनि सम्बन्धित सवारी धनीलाई अपिल गरे।
यता हराएका मोटरसाइकल पाएकोमा खुसी व्यक्त गर्दै सवारी धनीहरुले पनि ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन्। कीर्तिपुरबाट ३ महिनाअघि मोटरसाइकल हराएका जुम्लाका अनिल उपाध्यायले आफ्नो मोटरसाइकल भेटाई दिएकोमा ट्राफिक प्रहरीलाई धन्यवाद दिए।
ललितपुर ग्वार्कोका दिपक खड्काले पनि चोरी भएको २ महिनापछि मोटरसाइकल फिर्ता पाए। उनले मोटरसाइकल फिर्ता पाएकोमा खुसी व्यक्त गर्दै खोजी गरेर मोटरसाइकल बुझाइदिएकोमा ट्राफिक प्रहरीको प्रशंषा गरे।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा मात्रै साउन र भदौ महिनामा २ सय ५६ वटा सवारी साधन हराएको पाइएको छ। त्यसमध्ये ६० वटा सवारी भेटिएकोमा ३६ वटा सम्बन्धित धनीलाई बुझाइएको महाशाखाका प्रमुख पन्तले जानकारी दिए।
यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा सवारी साधन चोरीको घटना बढ्दै गएको उल्लेख गर्दै सचेत रहन सबै सवारी धनीलाई आग्रह गरेका छन्। उनले चोरसँग ट्राफ्रिक प्रहरीले मिलेमतो गरेको पाइए कडा कारबाही गर्ने चेतावनीसमेत दिए।
महाशाखाले चोरीको सवारी साधन खोजबिनका लागि प्रहरी निरीक्षकको नेतृत्वमा १७ जना जनशक्ति नै परिचालन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।