काठमाडौं- अनुशासन समिति गठनको विवादका कारण कांग्रेसमा संस्थापन समूह र इतर समूहको दुरी थप बढेको छ। बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक अनुशासन समितिको गठनका विषयमा विवाद भएपछि अनिश्चितकालका लागि स्थगित भएको छ।
दिउँसो १ बजेका लागि डाकिएको बैठकमा समिति गठनमा सहमति नभएपछि साँझ ६ बजे स्थगन गरिएको थियो। दिनभर आन्तरिक छलफलमा जुटेका नेताहरुले सहमति पहिल्याउन नसकेपछि विवाद बढेको हो। कार्य सम्पादन समिति, निर्वाचन समिति, अनुशासन समिति गठन र भ्रातृ संगठनका विषयमा छलफल गर्ने कार्यसूची रहेको बैठक सुरु नै नभई स्थगित भयो।
बैठक बस्दै नबसी स्थगित हुनुको सम्बन्ध गत निर्वाचनसँग जोडिएको छ। निर्वाचन पराजयलाई संस्थापन समूहले अन्तर्घात भएको ठहर गरेको छ भने संस्थापन इतर समूहले सभापतिको कार्यशैली र कार्यक्षमतामा प्रश्न उठाउँदै आएको छ। अन्तर्घातका कारण पार्टी पराजय भएको निर्क्यौल निकालेको संस्थापन समूहले आफू अनुकूल संयोजक तोकेर इतर समूहका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने डर इतर समूहमा छ। अनुशासन समिति सर्वमान्य र विवादरहित हुनुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको जोड थियो।
सभापति शेरबहादुर देउवाले आफू निकट भीष्मराज आङदेम्बेलाई संयोजक बनाउन चाहेका थिए। तर, शीर्ष नेताको बैठकमा सभापतिले संयोजक हुने व्यक्ति खुलाएनन्। संयोजक तोक्ने आफ्नो अधिकार भएको भन्दै सभापतिले पौडेल र सिटौला समूहबाट दुई जनाको नाम मागेका थिए।
पाँच सदस्यीय समितिमा देउवाले किशोरसिंह राठोर र देवेन्द्रराज कँडेललाई राख्न चाहेका छन्। शीर्ष नेताको बैठकमा सभापति देउवा निर्वाचन समिति, कार्य सम्पादन, विभाग र भ्रातृ संगठनका विषयमा प्रवेश नै गर्न नचाहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए।
आसन्न महासमितिमा कार्यकर्ताबाट प्रश्न नउठाउने गरी अन्य समिति पनि टुङ्ग्याउन वरिष्ठ नेता रामचन्द्र पौडेलले जोड दिएका थिए। पौडेलको प्याकेजमा टुङ्ग्याउने प्रस्तावलाई सिटौला र अर्जुननरसिंह केसीले समर्थन जनाएका थिए। पौडेलको प्रस्तावलाई सभापतिले भने अस्विकार गर्दै सुन्नै चाहेनन्।
निष्क्रिय रहेको अनुशासन समितिलाई सक्रिय नबनाई नयाँ समिति बनाउन लागिएको हो। रमेश रिजाल संयोजक रहेको अनुशासन समिति कामविहीन अवस्थामा छ। समितिमा सुरेन्द्र पाण्डे, कमला पन्त, उमाकान्त चौधरी र हृदयराम थानी सदस्य छन्।
गत बैसाखमा निर्वाचन समीक्षाका लागि बसेको केन्द्रीय कार्यसमितिको निर्णयमा अनुशासन समितिलाई अन्तर्घात गर्नेलाई कारबाही गर्न निर्देशन दिइएको थियो। बैसाख १६ को निर्णयमा ‘निर्वाचनको क्रममा पार्टीको अनुशासन उल्लंघन तथा अन्तर्घात भएको कुरा विभिन्न जिल्ला अन्तर्गतका निकायहरु, पार्टी कार्यकर्ता र नेता तथा उम्मेदवारको उजुरी र रिपोर्टमा उल्लेख भएको कुरालाई ध्यानमा राख्दै पार्टीलाई थप अनुशासित एवं मर्यादित वनाउन छानबिन गरी आवश्यक प्रक्रिया अघि बढाउन केन्द्रीय कार्यसमितिको यो बैठक अनुशासन समितिलाई निर्देश गर्दछ।’ उल्लेख गरिएको छ। तर, पारित निर्णय अनुरुप अनुशासन समितिले कुनै पनि काम गरेको छैन।
यसैबीच वरिष्ठ नेता पौडेल करिब दुई साता युरोप भ्रमणमा शुक्रबार जाने भएकोले कांग्रेस केन्द्रीय समितिको बैठक छिट्टै बस्ने सम्भावना देखिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।