काठमाडौं– प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले कञ्चनपुर घटनाप्रति गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। सरकार जनताको सुरक्षा दिने कार्यमा असफल भएको र राज्य नै अपराधी जोगाउन लागेको भन्दै उनीहरुले आपत्ति जनाए। जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको पनि संसदमा आलोचना भएको छ।
यस्तो छ सांसदहरुको प्रश्न
गगन थापा
अनिता बम र रोशनी बमलाई साथमा लिइएको थियो। जनतासँग प्रधानमन्त्रीसँग प्रधानमन्त्रीले तोडमोड गरी छानबिनलाई प्रभावित हुनेगरी बोल्नुभयो। यसमा तपाईंले प्रधानमन्त्रीलाई 'किन यस्तो गर्नुभयो' भनि प्रश्न गर्ने हिम्मत गर्नुभयो?
अमरेशकुमार सिंह
निर्मला पन्तको हत्यामा छानबिन समितिका एक सदस्यले धम्की दिएको भनी नाम लिएका शक्तिशाली व्यक्ति को हुन्? यहाँ सार्वजनिक हुनुपर्यो?
भरतकुमार साह
छानबिनमा संलग्न प्रहरीकै डिएनए परीक्षण हुँदै छ। यस्तो अनुसन्धान प्रक्रियाले कसरी पीडितले न्याय पाउँछन्?
सञ्जय गौतम
गृहमन्त्रीको जवाफ गोलमोटोल रुपमा आयो। बलत्कारपछि जघन्य हत्या भएको घटनामा किन यत्रो दिनसम्म अपराधी पक्राउ गरिएन?
रंगमती शाही
गृहमन्त्रीले लामो प्रतिवेदन प्रस्तुत गर्नुभयो तर आजसम्म किन अपराधी पक्राउ परेनन्। अब कति समय लाग्छ?
विन्दा पाण्डे
जनप्रतिनिधि नै हिंसाका घटना मिलेमतो गराउने कुरामा संलग्न भएको कुरा सार्वजनिक भएको छ। त्यसमा के कारबाही हुन्छ?
राजेन्द्र लिङ्देन
अपराधी को हो भन्ने प्रस्ट हुँदाहुँदै किन अलमल भइरहेको छ। जोजो अपराधीलाई बचाउन लागे उनीहरुबाट अनुसन्धान सुरु होस्।
पार्वती डिसी चौधरी
गृहमन्त्रीले जसरी गोलमोटल जवाफ दिनुभएको छ। २५ दिनपछि डिएनए टेस्ट हुँदै छ। यो पनि नाटक हो। विश्वास गर्ने आधार छैन। मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई यही हत्यारा हो भनिएको थियो। कोही नियोजित त हैन भन्ने लाग्दै छ।
बालकृष्ण खाँड
दोषीहरुलाई बचाउने कार्यमा सरकार नै लागेको हो कि भन्ने डर देखिएको छ। छानबिनका सदस्यलाई नै असुरक्षा हुने धम्की दिनेलाई किन अनुसन्धानमा ल्याइँदैन?
सुजाता परियार
गृहमन्त्रीको जवाफ त आयो तर पत्याउन सकिने आधार छैन। वास्तविक अपराधी पत्ता लागेको छ तर सरकारले लापरबाही गर्दै पक्राउ नगर्न खोजेको देखिन्छ।
दिलेन्द्रप्रसाद बडू
गृहमन्त्रीले जवाफ दिनुभयो तर कञ्चनपुरकी पन्तको हत्यामा संलग्न व्यक्ति सहज रुपमै पक्राउ पर्लान् जस्तो देखिँदैन। समितिका एक सदस्यको भनाइबाट यसको अनुसन्धान सुरु गर्नुपर्दछ।
सीतादेवी यादव
गृहमन्त्रीले दिनुभएको जवाफ सन्तोषजनक छैन। त्यसलाई लुकाउन षड्यन्त्र भइरहेको छ। सत्यतथ्य बाहिर ल्याउन माग गर्दछु। महोत्तरीमा ८ वर्षीया बालिकाको बलात्कारीलाई पक्राउ किन गरिएन?
राजकिशोर प्रसाद साह
राज्य, गृह प्रशासन त्यसलाई छानबिन गर्नको सटा कसरी बचाउन सकिन्छ भन्ने लागेको छ। जनताले कोसँग न्यायको अपेक्षा गर्ने?
चन्दा चौधरी
गृहमन्त्रीको जुन जवाफ आएको छ। पन्तको आज ५१ दिनसम्म पनि दोषी पत्ता लगाउन नसक्नु के दुर्भाग्य हो?
लक्ष्मणलाल कर्ण
बर्दिया पुलिसमा जुन गिरफ्तारी गरिएको छ। हिरासतमा के भएको रहेछ, रोग लागेको हो भने के गेको हो किन भनिँदैन। पुलिस हिरासतमा विष वा रक्सी के खुवाउँछ। आजसम्म यसको छानबिन भएन?
मीनबहादुर विश्वकर्मा
रात रहे अग्राख पलायो भनेझैं सुरुका दिनदेखि नै राज्य, पुलिस प्रशासन र राजनीतिक तहका मानिस संलग्न भएर प्रमाण नष्ट गर्ने कार्य भयो। कि प्रहरी मुछिएको कि राजनीतिक व्यक्ति मुछिएका हुन्, त्यसको जानकारी सदनमा गराउनुपर्यो?
प्रेम सुवाल
राति ९ बजे प्रहरीमा पुग्दा भोलि आउनु भन्ने प्रहरीलाई कारबाही भएको कि भएन? बम दिदी बहिनीमाथि छानबिन भयो कि भएन?
महेन्द्रा लिम्बु
निर्मला पन्तको प्रकरणमा गृह मन्त्रालयले नाटक गरिरहेको छ। यसमा मिलेमतो भएको भनी प्रस्ट भन्नुपर्यो हैन भने जनता सदनदेखि सडकसम्म आउन नपरोस्! ३३ किलो सुन झैं यो प्रकरण नहराओस्।
प्रमिला राई
निर्मला पन्तको बारेमा सदन अवरुद्ध गरेपछि मात्र जवाफ आयो तर चित्तबुझ्दो आएन। प्रत्येक दिन यस्ता घटना भइरहेका छन्। सरकार किन जिम्मा लिँदैन?
उमाकान्त चौधरी
न्याय ढिला पाउनु नपाउने सरह हो। छानalन समितिमा रहेकालाई धम्की दिने को हो? उसको नाम सार्वजनिक हुन पर्दछ।
दुर्गा पौडेल
रोशनी बम दिदी बहिनीबाटै छानबिन हुनुपर्दछ। दिलिप विष्टलाई परिवारका सदस्य देख्दा तर्कने गरी सजाय दिइयो तर उसलाई क्षतिपूर्ति दिनु पर्दैन? यत्रो आवाज उठ्दा समेत यत्रो दिनसम्म किन न्याय दिइँदैन?
गृहमन्त्रीको जवाफ
प्रधानमन्त्रीलाई सोध्नुभएको छ कि भएन भनेर समेत सोधियो। प्रधानमन्त्रीले नै निर्देशन दिनुभएको छ। यसलाई छिटोभन्दा छिटो टुंग्याउनु भन्नुभएको छ।
राज्यभन्दा कोही पनि शक्तिशाली छैन। छानबिन समितिका एक सदस्य वीरेन्द्रबहादुर केसीले एउटा सामान्य घटनालाई यसो भन्नुभएको छ। छानबिनका क्रममा एउटा व्यक्तिले दिएको अभिव्यक्तिले केसी डराउनुभएको हो। छानबिनको परिणाम कहिले आउला भनी सोधेको प्रश्नमा समय तोक्न मिल्दैन। यसको परिणाम छिटोभन्दा छिटो आओस् भनी उच्चस्तरीय छानबिन समिति गठन गरेका छौं। तत्कालै पनि सिआइबीको छानबीन टोली बनाइएको थियो। आशा गरौं, छिटोभन्दा छिटो यसको टुंगो लाग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।