मलेसिया– मलेसियाको लंकावीमा जारी पाटा ट्राभल मार्ट– २०१८ मा नेपाली स्टलमा उपस्थित अधिकांश विदेशी नागरिकले नेपालकै एयरलाइन्सको जहाजमा नेपाल कहिले आउन पाइन्छ भन्दै प्रश्न गरेका छन्।
मार्टमा सहभागी जापान, कोरिया, युरोप तथा अमेरिकाबाट आएका प्रतिनिधिले नेपाल भ्रमणाम आउने इच्छा हुँदा पनि सिधा हवाई सम्पर्क नहुँदा बढी भाडा तिर्नु परेको गुनासो गरे। भाडा मात्रै नभएर नेपाल भ्रमणमा आउँदा ट्रान्जिट भएर आउनु पर्दा समस्या परेको उनीहरुको गुनासो छ।
विदेशीको गुनासोमा नेपाल वायुसेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले छिट्टै जापान, कोरिया तथा साउदी अरबमा नयाँ वाइड बडी जहाजमार्फत सिधै उडान गर्ने जानकारी गराइरहेका थिए। मार्टको तेस्रो दिन निगमले आफ्ना नयाँ वाइड बडी विमान जाने गन्तव्यहरु जपान, दक्षिण कोरिया र साउदी अरबलगायतका नागरिकसँग पनि छलफल गरिरहेको छ।
‘नयाँ वाइड बडी उडान गर्ने नयाँ गन्तव्यको बारेमा छलफल गरिरहेका छौ’, उनले भने, ‘अहिले वाइड बडीमार्फत उडान गरिरहेको गन्तव्यबाट पनि राम्रै फिडब्याक पाइरहेका छौं।’ मेलामा सहभागी सामुदायिक होमस्टे, तारो तथा पर्यटकीय होटल, पदयात्राबारे पनि विदेशीको रोजाइमा परेको थियो ।
मार्टमा रहेको नेपाल एयरलाइन्सको स्टलमा आएका दक्षिण कोरियाका ब्रायन किमले निगमको नयाँ वाइड बढी विमान चढेर नेपाल घुम्न आउने इच्छा रहेको बताए । साथै मार्टमा सहभागी चिनियाँ जेनी चेङले पनि नेपाल एयरलाइन्सले चीनमा सिधा उडान गनेलगतै धेरै जना नेपाल घुम्न आउने योजनामा रहेको बताए ।
मार्टमा सहभागी विदेशीले नेपालको पर्यटन र प्राकृतिक सुन्दरता भौगोलिक विविधता तथा स्थानीय रहनसहनबारे जानकारी लिइरहेका छन्। मार्टमा नेपालको तर्फबाट पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सहकार्य तथा समन्वयमा १० निजी क्षेत्र (टुर अपरेटर, ट्राभल र होटल) का व्यवसायीको सहभागिता छ ।
नेपाली स्टलमा नेपालका पुरातात्विक एवं सांस्कृतिक सम्पदा, पर्यटकीय गन्तव्य, प्राकृतिक एवं भौगोलिक विविधता मनोरम तस्बिरमा सजाइएको छ। मार्टमा नेपालको स्टल आकर्षकको केन्द्र समेत बनेको छ ।
कतिपय विदेशीले भने भूकम्पपछिको संरचना निर्माणको अवस्था र सुरक्षाको बारेमा चासो राखेका थिए । सर्वोच्च शिखर सगरमाथा, भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी, प्रमुख पर्यटकीय गन्तव्यका आकर्षक झलकसहितको सजावट नेपा पेभिलियन साँच्चिकै आकर्षक देखिन्थ्यो ।
पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले मार्टमा सहभागी आगन्तुक क्रेता तथा मिडियाले नेपाललाई पर्वतीय पर्यटन अतिरिक्त विश्व पर्यटन बजारमा चिनाउने अन्य पर्यटकीय वस्तु तथा सेवाको बारेमा चासो देखाएको बताए । ।
नेपाली पेभिलियनअन्तर्गत पर्यटन बोर्ड, वायु सेवा निगमसहित होटल, ट्राभल एजेन्सी, टुर अपरेटर्स, सामुदायिक होमस्टेलगायत निजी क्षेत्रका विविध सेवाप्रदायक कम्पनीहरुद्वारा आ–आफ्नो क्षेत्र विशेष पर्यटन सेवाहरु प्रवद्र्धन गरिनु नेपाली पर्यटन प्रवद्र्धनका लागि उदाहरणीय संयोजन बनेको र यसले आगन्तुकको जिज्ञासाको उपयुक्त प्रत्युत्तर प्रदान गर्न सफल भएको उनको दाबी छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनील शर्माका अनुसार नेपालसहित ५० देशका स्टलमध्ये नेपालले समग्र नेपालको ब्राण्ड लोगो प्रस्तुत गरेको छ । आ–आफ्नो देशको पर्यटकीय विविधता आदान–प्रदानमा पनि उपयुक्त अवसर मिलेको र यसमा नेपालले अधिक लाभ लिने उनको विश्वास छ ।
समुद्रमाथिको केवलकार
मलेसियाको बिज टुरिजमको उपयुक्त गन्तव्य मानिने लंकावीलाई टापु, चुरे पर्वत, हरिया डाँडा आदिको संगमले थप आकर्षण गरेको छ । मलेसियाको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा लंकावीको समुद्रमाथिको केवलकार र स्काइब्रिज पर्यटनको प्रमुख आकर्षण मानिन्छ भने स्थानीय जीवजन्तु वनस्पति, परम्परागत जीवनशैलीले पनि पर्यटको मन भुलाउने गरेको छ।
मलेसियाको सरकारी तथ्यांकअनुसार सन् २०१७ मा दुई करोड ५९ लाख विदेशी पर्यटकले मलेसिया भ्रमण गरेका छन्। यसबाट ८२.२ विलियन मलेसियन रिंगेट आर्जन गरेको छ। सन् २०२० मा तीन करोड पर्यटक पुर्याउने मलेसियाली सरकारको लक्ष्य छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।