नवलपरासी–पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ लंगडीपाकडस्थित गण्डक नहरमा रहेका रूख अवैध रूपमा कटानी भएको छ।
केही स्थानीयबासीले लंगडीपाकड गाउँको उत्तरतर्फ रहेको पश्चिम गण्डक नहरसँगै रहेको पुसहा नदीदेखि पश्चिम ९५ नम्बर भन्ने पुलसम्म करीब २५ काँचो रुख कटान गरिएको जनाएका छन्।
स्थानीयबासीले जिल्ला वन कार्यालयमा दिएको निवेदनमा सिसम १८ थानसहित गुल्लर र सफेदा गरी करीब २५ रुख कटान भएकाले कटानमा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरेको स्थानीयबासी रामचन्द्र मालीले जानकारी दिए।
उक्त कार्यालयले भने ती रुख अनुमतिबिनै काटिएकाले उक्त काममा संलग्न व्यक्तिमाथि छानबिन गरी कारबाही गरिने जनाएको छ।
उक्त कार्यालय र सेक्टर वन कार्यालय बन्जरीयांले रुख कटानमा संलग्न व्यक्तिलाई कारबाही गर्न चासो नदेखाएको स्थानीयबासीको आरोप छ।
अहिले कटान भएका रुखका गोटाहर लंगडीपाकड गाउँमा राखिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।