काठमाडाैं- सात वर्षकाे उमेर, बुबाआमाको काँखमा रमाउने समय। यही उमेर हो, आमाको हात समाएर विद्यालय जाने, हाँसखेल गर्ने र साथीसँग रमाउने। यही उमेरका राजाराम बस्नेत भने ०६३ सालमा दोलखाको ‘जफे’ गाउँबाट काठमाडौं आए।
आफू कहाँं आए भनेर उनलाई थाहा थिएन। बानेश्वरको एउटा घरमा लगेर छाडेपछि राजारामलाई एक्लो महसुस भयो। सहरका अपरिचित मान्छेको घरमा आएकै दिनदेखि दुःखका श्रृखंला सुरु भए।
‘हरेक दिन बिहान ५ बजे उठ्थें, ५ रोपनीको गार्डेन सफा गर्थें, त्यसपछि घरको भुइँ पुछ्नुपर्ने, फूलमा पानी हाल्थें र बिहानको भाँडा माझ्थेँ,’ बाल श्रमिक भएर काम गर्दाका ती दिन सम्झेर भावुक भएका उनले भने, ‘बिहानको सबै काम सकेपछि स्कुल जानचाहिँ दिइएको थियो’।
स्कुलबाट घर फर्केपछि उही काम फेरि दोहोर्याउनुपर्थ्याे । त्यतिबेला उनी कक्षा १ मा भर्ना भएका थिए।
घरको आर्थिक स्थिति कमजोर भएकाले उनलाई काठमाडौं ल्याएर काममा लगाइएको थियो। पढ्नुभन्दा पनि खेल्ने उमेरमा बाल अधिकारका कुरा बुझ्दैनथे। तर उनको बाध्यता थियो, साहुकोमा काम गर्नु। ‘रुन धेरै आउँथ्यो, तर रोएर दुःख पोख्नलाई कोही थिएनन्,’ राजारामले विगत सम्झिए।
एकदिन उनी स्कुलबाट घर फर्कंदै थिए। साथीहरू खेलिरहेको देख्दा राजारामलाई साथीसँग खेल्ने रहर जाग्यो। खेलमा सामेल भए।
चौकीमा चिया पुर्याउन जाँदा प्रहरीका गाली, होटलमा आउने ग्राहकका गाली, साहुको गाली। तर ग्राहक चाँहि सबै उस्तै हुँदैनथे। कोहीकोही माया गरेर पैसा पनि दिन्थे। त्यही पैसा जोगाएर उनी कापी कलम किन्थे।
खेल सकेर घर फर्कंदा अबेर भएको थियो। त्यसदिन उनले ठूलो यातना भोग्नुपर्यो। ढिलो घर गएको निहुँमा उनका कलिला गालामा घरबेटीका चप्पलका छाप बसे। त्यो पीडा असह्य थियो। त्यसपछि उनी बानेश्वरको त्यो घरमा रहन सकेनन्। भागेर बौद्धमा पुगे। बौद्ध चोकमा एउटा होटलमा काम गर्न थाले।
कैदी र प्रहरीलाई चिया पुर्याउने, खाली भएका गिलास उठाउने, भाँडा माझ्ने र बच्चा हेर्ने लगायतका काम नयाँ ठाउँमा पनि श्रम कम थिएन। स्टोभ बालेर चिया पकाउँथे। मटिृतेल सकिँदा रातको १ बजेसम्म लाइन बसेर थाप्नुपर्थाे।
कामको चाप धेरै थियो। तर ९ वर्षीय बालकको पढ्ने चाहना भने मर्न सकेन। बिहानको काम सकेर उनी स्कुल गएकै हुन्थे। श्रम स्कुलमा पढ्थे। जहाँ उनीजस्तै बालश्रमिक पनि पढ्न आउँथे।
होटेलमा माया गर्ने साहु भेट्न मुस्किल थियो। गाली त कति खाए कति। अनगिन्ती मानिसले गाली गरेजस्तो लाग्थ्यो उनलाई। चौकीमा चिया पुर्याउन जाँदा प्रहरीका गाली, होटलमा आउने ग्राहकका गाली, साहुको गाली। तर ग्राहक चाहिँ सबै उस्तै हुँदैनथे। कोहीकोही माया गरेर पैसा पनि दिन्थे। त्यही पैसा जोगाएर उनी कापी कलम किन्थे।
रातको १० बजे काम सकेपछि उनी पढ्न थाल्थे। सुत्ने बेलामा १२ बजेको हुन्थ्यो। स्कुलमा उनको पढाइ भने अब्बल थियो। परीक्षामा सधैं दोस्रो।
बाल क्लब यात्रा
हरेक कक्षामा उनी सफलता पाइरहेका थिए। तर कामको चापले अध्ययनलाई नै थिच्ने अवस्था आयो। बौद्धको होटलमा काम गरेको ३ वर्ष भइसकेको थियो।
त्यसपछि, उनी बानेश्वरको लाजिम्पाटमा सरे। केही सहज होला कि भन्ने उनको अनुमान थियो। त्यहाँभने उनले साेचेजस्तै भयाे। लाजिम्पाटमा अाइसकेपछि भने वर्षाैदेखि अनुभव नगरेकाे प्रेमकाे अनुभव गरे राजारामले। उनी त्यहाँ अर्जुन अधिकारी अंकल र निकै माया गर्ने अान्टिसँग रहन्थे। 'त्यहाँ मैले धेरै सहयाेग पाएँ।' राजाराम सम्झँदै भन्छन्।
कुच्चो लगाउने, तरकारी काट्ने, रुम सफा गर्ने, बगैंचामा पानी हाल्ने काम गर्नुपर्ने लगायतका काम त गर्नु पर्थ्याे। तर कामकाे चापभने पहिले जस्ताे भाेग्नु परेन उनले।
त्यहाँबस्दा उनले जापानिज कुकको कामपनि सिके।'अंकल स्वयम् जापानिज कुक पनि थिए। मैले सजिलै सिकेँ,' उनी मुस्कुराए। लाजिम्पाट पुगेपछि नै अाफूले सपना देख्न सिकेकाे बताउँछन् उनी।
२१ वटा स्कुलबाट अन्तरविद्यालय स्तरीय बाल क्लब सञ्जाल गठन गरिने रहेछ। उनी अध्यक्षको दाबेदारको रुपमा प्रस्तुत भए। सबैलाई प्रभाव जमाइसकेका राजाराम अन्ततः अन्तर–विद्यालय सञ्जालको अध्यक्ष पनि भए।
लाजिम्पाट आएपछि भने राजारामको स्कुल परिवर्तन भयो। उनी महेन्द्र माविमा ५ कक्षामा पढ्न थाले। त्यतिबेलासम्म उनी आफ्ना कुरा राख्नसक्ने भइसकेका थिए। अरु साथी बोल्न डराउँथे, तर उनी बोल्नमा सिपालु थिए। स्कुलमा शिक्षकले सोधेको प्रश्नको जवाफ पनि निर्धक्क भन्न सक्थे।
एकदिन स्कुलमा नौला मानिस आए। उनीहरू बालक्लब गठन गर्न आएका रहेछन्। राजारामले बालक्बल भनेको भर्खर सुनेका मात्र थिए। ‘म्यामले पनि राजाराम बस्छ भनेर भन्नुभयो,’ उनले भने, ‘त्यसपछि म पनि बाल क्लबको सदस्य भएँ।’
पहिलोपल्ट बाल क्लबको सदस्य हुँदा उनमा खुसीको सीमा थिएन। उनको उत्साह झनै बढ्न थाल्यो। विस्तारै समाज, समूह, अधिकारको बारेमा बुझ्दै गए। व्यवहार सिके, कार्यक्रम र योजनाबारे सिके। बालक्लबमा लागेपछि सिर्जनात्मक कुरामा उनको सक्रियता बढ्दै जान थाल्यो।
बालक्लबले उनलाई आफू बालश्रमिक भएको ज्ञान दिलायो। जब उनले आफ्नो अवस्थाबारे बुझ्न सके, त्यसदिनदेखि उनले प्रण गरे, ‘नेपालमा बालश्रमिकको उद्धार गर्ने’।
बालक्लबको सदस्य हुँदा नै उनी धेरै आइडिया निकाल्थे। स्कुलभरमै उनको सक्रियता बढ्दै गयो। आफ्नो सक्रियताकै कारण कक्षा ७ मा पुगेपछि उनलाई सबैले बालक्लबको अध्यक्ष बन्न प्रेरित गरे। उनी महेन्द्र बाल क्लबको अध्यक्ष भए।
बालक्लबको अध्यक्ष भएपछि राजारामले पहिलोपल्ट ‘रो नेपाल’ नामक संस्थाको तालिममा सहभागी भए। तालिममा सहभागी हुन जाँदा उनले आफूले अध्यक्ष हुँदा बाल क्लबमा गरेको कामको सूची र कार्ययोजना लिएर गएका थिए। तालिममा सहभागी हुँदा उनको सक्रियता र उत्साहबाट प्रभावित नहुने कोही थिएनन्।
तालिममा २१ वटा विद्यालयका प्रतिनिधि सहभागी थिए। २१ वटा स्कुलबाट अन्तरविद्यालय स्तरीय बाल क्लब सञ्जाल गठन गरिने रहेछ। उनी अध्यक्षको दाबेदारको रुपमा प्रस्तुत भए। सबैलाई प्रभाव जमाइसकेका राजाराम अन्ततः अन्तरविद्यालय सञ्जालको अध्यक्ष पनि भए।
०७१ सालमा काठमाडौं जिल्लाको जिल्ला बालसञ्जाल काठमाडौंको बाल भेला भयो। बालभेलामा उनी बाल क्लबको प्रतिनिधि भएर सहभागी भए।
जिल्ला बाल भेलाबाट नयाँ कार्यसमिति बन्दै थियो। उनले जिल्ला सञ्जालमा पनि अध्यक्षमा दाबी गरे।
भेलाबाट जिल्लाकै अध्यक्ष हुने अवसर पनि मिल्यो राजारामलाई। ‘मलाई भाग्यले र साथीहरूले साथ दिए,’ उनको मुहारमा खुसी छल्कियो।
जिल्ला बाल क्लब सञ्जालको अध्यक्ष भएपछि उनलाई एकजना म्यामले भन्नुभयो, ‘राजाराम, जिल्लाका बालबालिकाको समस्या तिम्रो हातमा छ। यो कुराले उनको मनमा ठूलै प्रभाव पार्यो। बालकै भएपनि बाल अधिकारको लागि लड्ने उनले प्रण गरिसकेका थिए।
सेनेटरी प्याड र खुत्रुके अभियान
जिल्ला बालक्लब सञ्जालको अध्यक्षका नाताले विभिन्न तालिममा सहभागी हुने अवसर मिल्यो। विद्यालयले कार्यक्रममा उनलाई अतिथिको रुपमा बोलाउन थाले। धेरै स्कुलका कार्यक्रममा सहभागी भए। यसरी सहभागी हुँदा उनले प्रत्येक स्कुलमा एउटा समस्या पत्ता लगाए।
सेनेटरी प्याड खरीद गर्दा साथीहरूले गिज्याए पनि। अभियानबाट पछि हट्ने उनको कुरै थिएन। उनको कामले प्रभावित भएर विद्यालय आफैं अभियानमा सरिक भयो। पछि विद्यालयले नै सेनेटरी प्याड र दराजको व्यवस्था गर्यो।
‘प्रत्येक स्कुलमा छात्रामैत्री शौचालय थिएन। रजस्वला भएको समयमा कतिपय छात्रा विद्यालय नै नआउने रहेछन्।’
यसपछि उनले एउटा अभियान चलाए, ‘छात्रामैत्री विद्यालयका लागि खुत्रुके अभियान’। अभियान आफैंबाट सुरु गरे। कार्यक्रममा जाँदा र काम गर्दा कसैले माया गरेर दिएको पैसा खुत्रुकेमा संकलन गर्न थाले। जम्मा पैसाले उनले सेनेटरी प्याड किनेर स्कुलमा वितरण गरे।
पक्कै पनि योे अभियान चुनौतीपूर्ण थियो। सेनेटरी प्याड खरीद गर्दा साथीहरूले गिज्याए पनि। अभियानबाट पछि हट्ने उनको कुरै थिएन। उनको कामले प्रभावित भएर विद्यालय आफैं अभियानमा सरिक भयो। पछि विद्यालयले नै सेनेटरी प्याड र दराजको व्यवस्था गर्यो। पछि सबै कक्षाका विद्यार्थीले साथ दिए।
हरेक शुक्रबार कम्तिमा १ रुपैयाँ सबै विद्यार्थीले राख्न थाले। अभियान अन्य स्कुलमा पनि फैलियोे। पछि जिल्लाका सबै विद्यालयमा उनको अभियानले चर्चा पायो।
अभियानमा दौडिएका बालश्रमिक पाइला
०७२ मा महाभूकम्प गयो। उनी नदौडी बस्न सकेनन्। भूकम्प प्रभावित जिल्ला मध्ये ९ जिल्लामा राहत वितरण गर्न आफैं गए। विभिन्न संघसंस्थासँग समन्वय गरी राहत वितरणमा संलग्न भए। १२ दिनसम्म उद्धार गर्न अहोरात्र खटिए। प्रहरीलाई पानी र बिस्कुट वितरणमा लागिपरे।
गत वर्ष तराईमा बाढी गयो। त्यतिबेला पनि उनी विभिन्न सहयोग लिएर विराटनगर दौडिए। झुल, लत्ताकपडा र खाद्यन्न वितरणमा सहयोग गरे।
आफू स्वयम् बाल श्रमिकको पीडा भोगेका उनले पूर्व प्रधानमन्त्री समेत रहेका भटृराईसँग लामै कुरा गरेछन्। विगतदेखि वर्तमानसम्म सबै कुरा सुने बाबुरामले। राजाराम उनी समक्ष भक्कानिएका थिए।
प्रवीन सिलवाल संयोजक रहेको बाल अधिकारको राष्ट्रिय अभियानमा जोडिएर बालश्रम हटाउने अभियानमा जिल्ला बाल सञ्जाललाई पनि साथमा लिएर हिँडे।
सामाजिक अभियानमा लाग्दालाग्दै उनी ‘ग्लोकल टिन हिरो’को टप ७ काे सूचीमा समेत पर्न सफल भए।
पीडा बुझिदिने पूर्वप्रधानमन्त्री
मुुलुकी ऐन संहिता २०७४ को दफा ६४० देखि ६४४ मा रहेको त्रुटिपूर्ण व्यवस्था खारेज गर्न भन्दै भक्तपुर, ललितपुर, काठमाडौंमा बालबालिकाको लागि हालै राष्ट्रिय अभियानले चेतनामूलक नाटक प्रदर्शन गर्यो। उक्त व्यवस्था खारेज गर्न महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा चिठी बुझायो। बालबालिकाको अहितमा सहिंता रहेको भन्दै प्रधानमन्त्री सचिवालयमा चिठ्ठी दर्ता गरायो।
कानुनमन्त्री लगायत धेरै सांसदलाई भेटेर अभियानले आग्रह गर्यो। तर कोही पनि गम्भीर हुन सकेनन्। राजाराम आफैं यस अभियानमा सक्रिय थिए। उनी आफूजस्तै दुःख अन्य बालबालिकाले भोग्नु नपरोस् भन्ने पक्षमा थिए।
यसै शिलशीलामा एकदिन उनी अभियानका संयोजक प्रविन सिलवाल, बालक्लबका सदस्य सोनी भटृराई बाबुराम भटृराई कहाँ गए।
‘म जस्तो बालश्रमिकले बाल अधिकारका लागि यतिधेरै योगदान दिन सक्छु भने, राज्यले किन सक्दैन? यदि साँच्चै राज्य लागिदिने हो भने देश बालमैत्री हुन कठीन छैन।’
आफू स्वयम् बाल श्रमिकको पीडा भोगेको उनले पूर्व प्रधानमन्त्री समेत रहेका भटृराईसँग लामै कुरा गरेछन्। विगतदेखि वर्तमानसम्म सबै कुरा सुने बाबुरामले। राजाराम उनी समक्ष भक्कानिएका थिए। ‘मेरो अवस्थाबारे कसैले यसरी चासो राखेको थिएन। तर, मेरो दुःख सुनेर म भन्दा पनि बढी दुःखी भएको महसुस भयो।वहाँ गम्भीर हुनुभयाे’, उनले भने, 'उहाँले मेरो कुरा सुनेर आँसु थाम्न सक्नुभएन।'
बाबुराम भटृराईबाट पाएको सकरात्मक विश्वासबाट उनी आशावादी छन्।
एक मात्र चाहना : देश बालमैत्री बनोस्
अहिले उनी १७ वर्षका भए। सिभिल इन्जिनियरिङमा सब ओभरसियर पास गरे। एक वर्षअघि घरेलु कामदारबाट मुक्त भए। तर, श्रमबाट भने अझै मुक्त छैनन् उनी। ‘अध्ययनका लागि आर्थिक जोहो गर्नुपर्छ। एउटा होटलमा कुकको काम गरिरहेको छु,’ उनले भने। घरेलु श्रमिकबाट मुक्त भए नि समस्याबाट मुक्त छैनन् उनी। बाल बाअधिकारको सवाल उनी प्रत्येक सासमा खोज्छन्। समय मिलेसम्म अभियानको लागि कुद्छन्।
सरकारी र गैरसरकारी संस्थाका गलत चरित्रविरुद्ध आवाज उठाउँछन्। कहिले सडक बालबालिकाको उद्धारमा लाग्छन्, कहिले आफूसँग जम्मा भएको पैसाले छात्रवृत्ति दिन तम्सन्छन्। बालबालिकाको हित विपरीत भएका कानुनी त्रुटि संशोधनको आग्रह बोक्दै मन्त्रालय धाउँछन्।
बाल दिवसमा राज्यले ठूलाठूला होटलमा कार्यक्रम गरेर पैसा खर्चन्छ। बालबालिकाको समस्याप्रति राज्य कहिल्यै संवेदनशील भएन। एकैछिन मौन देखिएका राजारामले गम्भीर हुँदै भने, ‘म जस्तो बालश्रमिकले बाल अधिकारका लागि यतिधेरै योगदान दिन सक्छु भने, राज्यले किन सक्दैन? यदि साँच्चै राज्य लागिदिने हो भने देश बालमैत्री हुन कठिन छैन।’
‘यो बालश्रमिकको एउटै सपना छ, देश बालमैत्री भएको हेर्न पाऊँ,’ उनका आँसु खसे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।