पोखरा– गण्डकी प्रदेशले सिँचाइ आयोजना(नहर) शिलान्यास गर्दै बिहीबारबाट वार्षिक बजेट कार्यान्वयन गर्न सुरु गरेको छ। गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री रामशरण बस्नेतले माछापुच्छ्रे गाउँपालिका–८, लुम्रेमा रहेको पोउखोला–सिमलबेंशी सिँचाइ आयोजनाको शिलान्यास गरेसँगै पहिलो विकास योजना कार्यान्वयन तहमा पुगेको हो।
शिलान्यासपछि बोल्दै मन्त्री बस्नेतले १७ सय मिटर लम्बाई रहने नहर निर्माणपछि माछापुच्छ्रे गाउँपालिकावासीले एक बाली खेतीमा चित्त बुझाउनुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरे। ‘बर्खे बालीमात्रै लगाएर कोही पनि बाँकी बचेको समयमा आराम गरेर, तास खेलेर साँझमा रक्सी खाएर बस्ने छैनन्,’ उनले भने, ‘सबैले विभिन्न तरिकाबाट अनिवार्य रुपमा बालीनाली लगाउनुपर्ने छ। एउटा भेडा या भैंसी पालेर हुँदैन।’
नहर आउँदो असारभित्रै निर्माण गरिसक्ने र असारमा लगाउने धानका लागि नयाँ नहरबाटै सिँचाइ गर्न सकिने मन्त्री बस्नेतले दाबी गरे। ‘हामीले २ वर्ष लाग्ने योजना १ वर्षमै सक्नेगरी योजना बनाएका छौं, कसैले ढिलासुस्ती गर्न पाउँदैन। ढिलो भएमा कारबाही र छिटो भएमा पुरस्कृत गर्छौं,’ उनले भने।
नहर निर्माण पूरा हुन १ करोड १० लाख रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। ‘सुरुमा ४५ लाख बजेट विनियोजन गरेका छौं। बाँकी कार्यप्रगति विवरणका आधारमा बजेट थप हुँदै जानेछ,’ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले भने। उनले शाखा नहर ६ सय ६० मिटर रहने र मुख्य नहरमा ७० लिटर प्रति सेकेन्डका दरले पानी प्रवाह हुने जानकारी दिए।
सचिव मरहठ्ठाले योजना पूरा भएपछि लुम्रे फाँटमा निर्माण भएका घर कटाएर ३० हेक्टर जमिनमा नियमित सिँचाइ सुबिधा प्राप्त गर्न सकिने दाबी गरे। नहरको शिलान्यास भइसके पनि हालसम्म टेन्डर भने खुलाइएको छैन। ‘स्टिमेट भई सबै प्रक्रिया पूरा भएकोले छिट्टै नै टेन्डर खोल्ने तयारीमा छौं,’ उनले भने। प्रदेश सरकारले सडक, खानेपानी, सिँचाइ लगायतका भौतिक विकास योजनालाई प्रथामिकता दिएकाले पहिलो शिलान्यास नै सिँचाइ आयोजनाको गर्नुपरेको उनले खुलाए।
नहर २८ वर्ष पहिले निर्माण गरिएको भएपनि संरक्षणको अभावमा जीर्ण भएकाले पुनः बनाउनु परेको हो। नियमित सिँचाइ सुविधा नहुँदा उर्वर लुम्रे फाँटमा एक बालीमात्रै खेती हुँदै आएको स्थानीय पूर्णसिंह विकले बताए। ‘पहिले पनि नहर थियो। तर, पानी बीचमै चुहेर सकिन्थ्यो। हिउँदमा पानी नैै आउँदैन थियो,’ उनले भने, ‘यो योजना सफल भयो भने सजिलै १ वर्षमा २ बाली लगाउन सक्ने थियौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।