काठमाडौं– नेपाल विद्युत प्राधिकरणले विद्युत प्रशारण लाइनको क्षमता कमजोर भएकाले लोडसेडिङको समस्या देखिएको स्पष्ट पारेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्रशारण लाइनको क्षमता कमजोर भएकाले समाप्त भइसकेको लोडसेडिङको समस्या बल्झने गरेको प्रष्ट्याए।
बिहीबार काठमाडौंमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले ती समस्या समाधानका लागि प्राधिकरणले विशेष योजना बनाएर कामलाई अघि बढाएको पनि जानकारी दिए।
कार्यकारी निर्देशक घिसिङले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयजस्ता महत्वपूर्ण ठाउँमा लोडसेडिङको समस्या कहिल्यै नआउने गरी पूर्वाधारको उचित व्यवस्था गर्न लागिएको पनि बताए।
प्राधिकरणले विद्युतबाट हुने जोखिम न्यूनिकरणका लागि नांगा तार विस्थापित गर्ने योजना पनि अघि सारेको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गाउँघरमा सामान्य नागरिकको समेत ज्यान जाने जोखिमपूर्ण अवस्था रहेकाले नांगा तार विस्थापित गर्ने अभियानलाई पनि जोड दिइएको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।