काठमाडौं- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको आत्माको चीर शान्तिको कामना गर्दै बिहीबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।
दीप प्रज्वलनमा निर्मलाका बाबुआमा यज्ञराज र दुर्गादेवी समेत सहभागी थिए। न्यायको खोजीमा भन्दै मानवअधिकारवादीहरूको एउटा समूहको साथमा उनीहरू मंगरबार मात्रै काठमाडौं आइपुगेका थिए।
उपस्थितहरूले निर्मलाको फोटो बोकेका थिए भने निर्मलाले न्याय पाउनुपर्ने, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न अनुरोध गरिएका प्लेकार्डहरू समेत प्रदर्शन गरेका थिए।
गत साउन १० गतेदेखि हराएकी निर्मला ११ गते दिउँसो मृत फेला परेकी थिइन्। परिवार, आफन्त तथा निर्मलाले न्याय पाउनुपर्छ भन्ने कुरा निरन्तर खबरदारी गर्नेहरूले विभिन्न कार्यक्रम गर्दै सरकारलाई दोषी पत्ता लगाउन दबाब दिँदै आएका छन्।
तर, घटनाको ४९ दिन बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन। यसबीचमा प्रहरीले केही व्यक्तिलाई पक्रेर अनुसन्धान गरे पनि उनीहरूबाट कुनै प्रमाण नपाएपछि थुनामुक्त गरेको छ।
जैमात्र, प्रहरी प्रधान कार्यालयले यो प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज विष्ट तथा घटनामा संलग्न रहेको आरोप लगाउँदै कारबाहीको माग गरिएका अन्य २ जनाको डिएनए परीक्षण सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।