काठमाडौं– अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा ३ पुरुष र २ महिला गरी ५ नेपाली खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। प्रतियोगिता सेप्टेम्बर २० देखि २७ तारिखसम्म हुनेछ।
पुरुष ९० केजीमुनि रविन श्रेष्ठ, ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजीमुनि मोहन बम रहेका छन्। महिलामा मनीता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र फुपुल्हामु खत्रीले ६३ केजीमुनि प्रतिस्पर्धा गर्नेछन्।
प्रशिक्षकमा मनोजबहादुर केसी र व्यवस्थापकमा प्रमोदप्रसाद नेपाल छन्। आईजेएफ एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य समेत रहेका नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य पनि बाकु जाने छन्। वज्राचार्य शुक्रबार जाँदैछन् भने बाँकी टोली सेप्टेम्बर १७ तारिखमा जाने कार्यक्रम छ।
दुई खेलाडी फुपु र मोहन हाल क्रमशः जापान र अस्ट्रेलियामा रहेकाले उनीहरु त्यत्तैबाट बाकु जाने जुडो संघले जनाएको छ। मोहन बाहेक सबै खेलाडीले यसै महिना इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए।
नेपाली जुडो टोलीलाई बिहीबार बिदाइ गरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।