काठमाडौं– साफ च्याम्पियनपसिप फुटबल प्रतियोगिताका हरेक संस्करणमा नेपालको एउटै लक्ष्य हुन्छ, उपाधि जित्ने। प्रतियोगिताअघि नेपालका प्रशिक्षकले भन्ने गर्छन्– यसपटक हामी उपाधि जितेर इतिहास बनाउँछौं।
यसपटकको साफ सुजुकी कप २०१८ मा पनि यस्तै भयो। प्रशिक्षक बालगोपल महर्जनले सेमिफाइनलमा पुगेपछि भन्न भ्याइहाले– फाइनल पुगेर इतिहास बनाउछौं। तर कथा पुरानै दोहोरियो। नेपालको यात्रा सेमिफाइनलमै रोकियो। बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाललाई माल्दिभ्सले ३–० गोलले पराजित गर्यो।
१२ संस्करणसम्म आइपुग्दा नेपाल उपाधि नजिक समेत पुग्न सकेको छैन। पाँच पटक सेमिफाइनलमा पुग्नु नेपालको सबैभन्दा ठूलो सफलता हो। फाइनल पुग्नु नै नेपालका लागि इतिहास बन्ने स्थिति छ।
यसपटक नेपालले समूह चरणमा राम्रो प्रदर्शन गरेको थियो। बंगालदेशलाई समूह चरणको अन्तिम खेलमा हराएपछि नेपाललाई उपाधिको दाबेदारको रुपमा लिइएको थियो। तर नेपालले सेमिफाइनलमा अपेक्षाकृत खेल्न सकेन। किन त?
सेमिफाइनलअघि नेपालका प्रशिक्षक जित निकाल्नेमा ढुक्क देखिएका थिए। तर त्यहीअनुसारको तयारी नगरेको सेमिफाइनल खेलले देखाएको छ।
नेपालका मिडफिल्डले बललाई पकडमा राख्न नसकेकाले माल्दिभ्सतिर खेल गएको प्रशिक्षक प्रदीप हुमागाईं बताउँछन्। 'नेपाल ९ जना र माल्दिभ्स ११ जना खेलेको जस्तो लाग्यो। मिडफिल्ड र डिफेन्समा नेपालका १–१ खेलाडी नभएको जस्तो लाग्थ्यो, ' हाल अमेरिकामा रहेका प्रदीपले नेपाल लाइभसँग टेलिफोनमा भने,' उनीहरुले ३ जना फरवार्ड अघि बढ्दा हाम्रा ३ वा २ जना खेलाडी डिफेन्स लाइनमा हुन्थे।' आक्रामक मिडफिल्डर रोहित चन्दको भूमिका पनि स्पष्ट नभएको उनको दाबी छ। 'रोहित डिफेन्स हो कि आक्रामक मिडफिल्डमा खेलेको हो स्पष्ट थिएन,' उनी भन्छन्।
नेपालले खेललाई बुझेर अघि बढ्न नसकेको पनि देखिएको छ। आफ्नो खेल्ने तरिकामा पनि नेपाल स्पष्ट थिएन। अर्कोतर्फ नेपालले 'अट्याकिङ थर्ड' मा बल लैजाने तरिका नै गलत थियो। यसमा प्रशिक्षक हुमागाईं पनि सहमत छन्। भन्छन्,'डिफेन्डरहरुले 'अट्याकिङ थर्ड' मा पास दिइरहेका थिए। मैलै मिडफिल्डरको कुनै भूमिका देखिनँ।'
अर्कोतर्फ नेपालले पाएका 'डेड बल' लाई सदुपयोग गर्न सकेन। नेपालले खेलमा आधा दर्जन कर्नर र फ्रिकिक पाएको थियो। तर कुनै पनि बलमा नेपालले प्रभावकारी आक्रमण गर्न सकेन। 'नेपालले कर्नरमा समेत 'भेरिएसन' प्रयोग गर्न सकेन। माल्दिभ्स टिम 'सेप' मा भएकाले हामीले भेरिएसन प्रयोग गर्न जरुरी थियो,' हुमागाईंको भनाइ छ।
नेपालले सुरुवाती १० मिनेटभित्र गोल खायो। गोल फर्काउने पर्याप्त समय हुँदा पनि नेपाल मैदानमा सफल हुन सकेन। पहिलो गोल नेपालले आफ्नै गल्तीले खाएको थियो। प्रशिक्षक हुमागाईं पनि डिफेन्डरले ध्यान नदिंदा नेपालले गोल खाएको बताउँछन्। 'फ्रिकिङ बललाई छेक्ने क्रममा डिफेन्डरको वालमा एक जना बढी खेलाडी राख्नुपर्थ्यो,' उनले भने,'तर माल्दिभ्सको फ्रिकिङ पनि उत्तिकै राम्रो थियो।'
माल्दिभ्सले ४–२–३–१ तथा नेपालले ४–४–२ को रणनीतिमा खेलेका थिए। माल्दिभ्सले 'अट्याकिङ थर्ड' मा बल खेलाएको थियो। यो अवस्थामा नेपाललाई केन्द्रीकृत भएर आक्रमण गर्ने अवसर पनि थियो। कतिपय खेलाडीको व्यक्तिगत कमजोरी देखिएको छ।
खेलपछि नेपालका प्रशिक्षक बालगोपाल महर्जनले हारको दोष मौसम र मैदानलाई दिए। तर उनले त्यही मैदानमा माल्दिभ्सले पनि खेलेको कुरा बिर्सिए। अर्कोतर्फ नेपाली टिमलाई पानी र हिलो मैदानमा खेल्नु नौलो होइन।
नेपालले खेलाडीको जर्सी र मोजामा पनि ध्यान दिन सकेन। भिजेको मोजा र जर्सीमा धेरै बेर खेल्दा खेलाडीले आफ्नो शतप्रतिशत दिन सक्दैनन्।
खेलमा माल्दिभ्सको स्पष्ट लक्ष्य थियो, राम्रो डिफेन्स खेल्ने र पाएको अवसरमा नचुकाउने। नेपालका फरवार्ड विमल घर्तीमगरलाई उनीहरुले प्रत्येक क्षण निगरानीमा राखेका थिए।
नेपालको ठूलो कमजोरी मैदान बाहिर देखिएको छ। समूह चरणमा ७ गोल गरेर समूह विजेता बनेपछि नेपालले च्याम्पियन बन्ने सपना देख्न थालिसकेको थियो। नेपालका प्रशिक्षक सेमिफाइनल जित्ने भन्दा पनि इतिहास बनाउने लक्ष्यमा थिए। भारतका प्रशिक्षकले 'नेपालसँग फाइनल खेल्न चाहेको' भन्दै दिएको भनाइमा नेपाली अफिसियल रमाइरहेका थिए। यसको ठिक विपरीत माल्दिभ्सका प्रशिक्षक पेटर सेगर्टले नेपाल बलियो टिम भएको र सेमिफाइनलमा जित्न केन्द्रित हुने प्रतिक्रिया दिएका थिए।
समूह चरणमा नेपालले ७ गोल गरेको थियो भने माल्दिभ्सले गोल गर्न सकेको थिएन। यस्तो अवस्थामा माल्दिभ्सका प्रशिक्षकले उनका खेलाडीलाई भनेका थिए,' हामी कसरी सेमिफाइनल पुग्यो वास्ता नगर। तिमीहरु जसरी पनि फाइनल पुग्नु पर्छ।' यसरी माल्दिभ्सले नेपालविरुद्ध मैदानभित्र मात्र होइन, मैदान बाहिर पनि खेल जित्यो।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।