काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला, प्रदेश तथा भ्रातृ संगठनको एकीकरण प्रक्रियाले गति नलिएपछि नयाँ मापदण्ड तय गरिने भएको छ। पार्टी केन्द्रको एकीकरण सहज रुपमा सम्पन्न भए पनि तल्लो तह र भ्रातृ संगठनको एकता प्रक्रियामा भने उल्झन आएको छ।
पार्टीबाट गठित अधिकांश कार्यदलले एकता प्रक्रिया टुंग्याएर प्रतिवेदन बुझाउन सकेका छैनन्। प्रदेश २ का सबै जिल्लामा एकता टुंगिएको छैन। सहमति हुन नसकेकै कारण प्रदेश २ ले केन्द्रमा प्रतिवेदन पेस गर्न सकेको छैन। एकता प्रक्रिया टुंगिएका जिल्लामा पनि विवाद कायमै छ।
प्रदेश ५ का अधिकांश जिल्लामा पूर्व एमालेबीच नै विवाद भएको छ। ज्येष्ठता र कार्य क्षमतामा अघि रहे पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकालाई अवसर नदिइएको भन्दै असहमति बढेको हो। सचिवालयले निर्वाचनमा विजयी वा लाभका पदमा रहेकालाई जिम्मेवारी नदिने मापदण्ड बनाएको थियो। सोही आधारमा नेपाल समूहका नेताहरुलाई जिल्ला नेतृत्व नदिइपछि असन्तुष्टि चुलिएको हो।
सतहमा प्रदेश ५ को विवाद देखिए पनि अन्य प्रदेशमा पनि विवाद तत्काल साम्य हुने छाँट देखिन्न। प्रदेश १ र ३ बाट महासचिवसमक्ष लिखित गुनासो गर्नेको संख्या धेरै रहेको बताइएको छ। गण्डकी प्रदेशमा जिल्ला कार्यदलले सहमति पहिल्याउन नसकेपछि केन्द्रलाई आ–आफ्नो तर्फबाट नाम सिफारिस गरेका छन्। गण्डकी प्रदेशका सबै जिल्लामा पूर्वएमाले र माओवादी केन्द्रले नेतृत्वमा दाबीसहित नाम पठाइएको छ। नेकपाको जिल्ला कमिटीमा विशेष ४ जिल्ला कमिटीसहित सबै जिल्ला गरी ८१ कमिटी रहेको छ।
२२ जनवर्गीय संगठनमा हालसम्म कुनै पनि संगठनले केन्द्रलाई एकीकरणको खाका पेस गर्न सकेका छैनन्। विद्यार्थी, युवा, मजदुर लगायतका संगठनले संख्यामा सहमति गरे पनि नेतृत्व छान्न सकेका छैनन्।
साउन अन्तिमसम्ममा एकीकरण सकेर केन्द्रलाई पठाउन सचिवालयले निर्देशन दिएको थियो। निर्धारित समयमा एकता सम्पन्न नभएपछि पुनः भदौ ७ सम्मको लागि समय दिइएको थियो। तोकिएको उक्त अवधिमा पनि एकता प्रक्रिया नसकिएपछि स्थायी समितिको बैठक बस्न सकेको छैन। भदौ १८ र १९ का लागि डाकिएको बैठक पनि अनिश्चित बनेको छ।
एकता प्रक्रियामा गतिरोध आएसँगै बुधबार बसेको सचिवालय बैठकले नयाँ मापदण्ड तय गर्ने निधो गरेको छ। बैठकमा महासचिव विष्णु पौडेलले जिल्ला, प्रदेश तथा भ्रातृ संगठनको एकता प्रक्रियामा आएका जटिलता प्रस्तुत गरेपछि नयाँ मापदण्ड तय गर्ने तयारी भएको हो। चार घन्टाभन्दा बढी बसेको बैठकमा पौडेलले एकता प्रक्रिया सकिएर पनि जिल्लाबाट आएका असन्तुष्टि प्रस्तुत गरेका थिए। एकता सकिएका प्रतिवेदन र गुनासोका फाइल बोकेर उनी बालुवाटार पुगेका थिए। पार्टी एकीकरण प्रक्रियामा पूर्वमाओवादीमा भन्दा पूर्वएमालेमा समस्या देखिएको छ। पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच विवाद चुलिएको छ।
बिहीबार (आज) दिउँसो ३ बजे बस्ने बैठकले नयाँ मापदण्ड तय गर्ने बताइएको छ। निर्वाचितहरुलाई पार्टीमा भूमिका नदिने यसअघि बनाइएको प्रावधानलाई बैठकले संशोधन गर्ने एक नेताले बताए। संशोधित नयाँ व्यवस्थामा वरिष्ठता र कार्यक्षमताको आधारमा नेतृत्व दिने बताइएको छ। नयाँ विधि बिहीबार नै तय भएमा प्रदेश अध्यक्ष र इन्चार्ज तोकिनेछ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार र प्रवक्ता नारायणकाजी श्रेष्ठ शुक्रबार चीन जाँदैछन्। एक अध्यक्ष र प्रवक्ता नै विदेश भ्रमण जान लागेकाले बिहीबारको सचिवालयको बैठकमा नयाँ मापदण्ड तय हुने सम्भावना बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।