दाङ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' लाई आज काठमाडौं लगिएको छ। बिहान दाङबाट नेपालगन्ज हुँदै विमानबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए।
शुक्रबार भोजपुरबाट दाङ ल्याइएका प्रकाण्डलाई सर्वाेच्च अदालतले काठमाडौं झिकाउन पत्र काटेपछि पुनः काठमाडौं पठाइएको उनले बताए। प्रकाण्डको डायरीमा तुलसीपुरको घटनाको बारेमा उल्लेख गरेको भेटिएपछि थप अनुसन्धानका लागि दाङ ल्याइएको थियो।
प्रकाण्डको विषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङले ८ दिन तोकेको थियो। त्यो म्याद नसकिँदै सर्वाेच्चले काठमाडौं झिकाउन पत्र काटेको हो। तर अनुसन्धान भने जारी रहने प्रहरी उपरीक्षक शर्माले बताए।
प्रदेश तथा प्रतिनिधिसभाको चुनावका बेला कांग्रेसले आयोजना गरेको सभालाई बिथोल्न बम विस्फोट गरिएको थियो। उक्त विस्फोटमा परी एक म्यादी प्रहरीले ज्यान गुमाएका थिए।सोही घटनामा म्यादी प्रहरीको हत्या गरेको भनी प्रकाण्डलाई आरोप लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।