म्याग्दी– म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले विद्यालयको भवन बगाएको छ। रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माविको भवन बाढीले बगाएर क्षति पुर्याएको हो।
छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनिएपछि बुधबार साँझ आएको बाढीले कटान गरेर विद्यालयको दुई वटा भवन, एक वटा शौचालय पूर्ण र एक वटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिए।
उनका अनुसार ४ कोठे र २ कोठे भवन पूर्ण तथा ३ कोठे भवनको आधा भाग बगाएको छ। घ्याँसीखर्क स्थित स्वास्थ्य चौकीको भवन खोलाले बगाएर ल्याएको बाढी थुप्रिएर पुरीएको छ। तीन वटा झोलुंगे पुलमा पनी बाढीले क्षत्ती पुर्याएको छ।
खरिबोट स्थित बेलबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल र यमबहादुर छन्त्यालको घर नदीले कटान गरेर बगाएको छ। कुईनेमंगलेको तेर्सो भन्ने ठाउँमा अर्को एक वटा घर पनि रघुगंगामा आएको बाढीले बगाएको वडा अध्यक्ष छन्त्यालले बताए।
करिब २० घरको बसोबास रहेको घ्याँसीखर्क गाउँ नदी कटानका कारण जोखिममा परेको छ। यसैगरी माथिल्लो क्षेत्रका विभिन्न ठाउँमा गएको पहिरोपछि रघुगंगा र कालीगण्डकी नदीमा आएको बाढीले तटीय बस्तीहरुमा क्षत्ती पुर्याएको छ।
सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा निर्माणाधिन पक्कि पर्खाल बाढीले बगाएको प्रजिअ लिलाधर अधिकारीले बताए।
करिब पचास मिटर पक्कि पर्खाल बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको छ। यसैगरी रघुगंगा गाउँपालिका ३ राहुघाटको बस्ती र बेनी जोमसोम सडक अन्तरगतको बेलिब्रिज कटानको जोखिममा परेको छ।
कालीगण्डकीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका २ वारीबेनीदेखि बगरफाँटतर्फ जाने करिब १० मिटर सडक बगाएको बगरफाँटका सुरेशबहादुर बिकले बताए।
कटान र पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।
चमेरे, बैसरी, बेगखोला, भुरुङ तातोपानी, रुप्से र घाँसा खण्डमा पहिरो र कालीगण्डकीको कटानका कारण सडक अवरुद्ध हुँदा स्थानीयबासी, मुस्ताङ जाने आउने पर्यटक समस्यामा परेका छन्। मुस्ताङमा उत्पादित स्याउ बजार पठाउन समस्या भएको छ।
यसैगरी पहिरोले मुस्ताङको थासाङ गाउँपालिका ५ कुञ्जो स्थित स्वास्थ्य चौकी र आमा समूहको भवन पुरिएर पूर्ण रुपमा क्षति पुगेको छ। थासाङ गाउँपालिका २ सौरुमा बाढी पस्दा १० घरमा क्षति पुगेको छ।
मुस्ताङ र म्याग्दीको माथिल्लो क्षेत्रमा पहिरोपछि कालीगण्डकी नदीमा बुधबार अपराहन्न ५ बजेदेखि ९ बजेसम्म बाढीको सतह बढेको थियो।
राति सुरक्षित ठाउँमा गएर बास बसेका तटीय क्षेत्रका बासिन्दाहरु नदीमा बाढीको सतह घटेपछि बिहानदेखि घर फर्कन थालेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।