भैरहवा– भारतीय सवारी साधनलाई नेपाल आयल निगमले तोकेभन्दा बढी तेल उपलब्ध गराएको भन्दै रुपन्देहीका ३ वटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ।
अनुगमनपछि सुरज आयल डिष्ट्रिब्युटर्स, जय माँ दुर्गे आयल स्टोर्स र न्यू एभरेष्ट आयल सप्लायर्समा सिलबन्दी गरिएको हो।
हुलाकी राजमार्गमा रहेका पेट्रोल पम्पमा छड्के अनुगमन गर्दा पेट्रोलियम पदार्थ अपचलन गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोली रुपन्देहीले पेट्रोल पम्पमा सिलबन्दी गरेको हो। पेट्रोलियम पदार्थ अपचलनका कारण नेपाली सवारी साधनलाई डिजल र पेट्रोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोली रुपन्देहीले छड्के अनुगमन सुरु गरेको हो।
जिल्लाको ओमसतिया गाउँपालिकास्थित सुरज आयल डिष्ट्रिब्युटर्स, रोहिणी गाउँपालिकामा रहेको जय माँ दुर्गे आयल स्टोर्स र न्यू एभरेष्ट आयल सप्लायर्समा सिलबन्दी गरिएको संयुक्त बजार अनुगमन टोली रुपन्देहीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए।
उनले सिमा क्षेत्रमा पर्ने यी पेट्रोल पम्पहरुले नेपाल आयल निगमले दिएको निर्देशनको अवज्ञा गर्दै भारतीय नम्बर प्लेटका मालबाहक ट्रक, बस र कारलाई अनाधिकृत रुपमा पेट्रोल तथा डिजल बिक्री वितरण गरेको पाइएपछि सिलबन्दी गरिएको बताए।
नेपाली बजारमा पेट्रोलियम पदार्थको अभाव देखाउँदै यी पम्पहरुले भारतीय बजारमा पेट्रोलियम पदार्थ अनाधिकृत रुपमा पैठारी गरेको सूचना प्राप्त भएपछि नेपाल आयल निगमले कडा निर्देशन दिँदै भारतीय नम्बरका मालबाहक ट्रक, बस र कारहरुलाई भारततर्फ फर्किने बेलामा बढीमा ५० लिटर मात्र इन्धन भर्न दिन पाइने सर्कुलर गरेको थियो। आयल निगमको निर्देशनलाई अवज्ञा गर्दै यी पेट्रोल पम्पहरुले भारतीय नम्बरका सवारी साधनलाई मागे जतिको इन्धन दिएको अनुगमनका क्रममा भेटिएपछि कारबाही अनुरुप सिल गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका प्रमुख वेदप्रकाश उपाध्यायले बताए।
नेपाली बजारमा भन्दा भारतीय बजारमा पेट्रोलियम पर्दाथको मुल्यमा झन्डै २० रुपैयाँ बढी छ। जसका कारण नेपालबाट विभिन्न माध्यम हुँदै पेट्रोलियम पदार्थ भारततर्फ पैठारी हुदाँ नेपाली बजारमा अभाव देखिएको प्रमुख उपाध्यायको दाबी छ।
अनुगमनका क्रममा टोलीले सुरज आयल डिष्ट्रिब्युटर्सले युपी१७एट २३५४ नम्बरको बसमा २ सय लिटर डिजेल र जिजे१०टियु १२१८ नम्बरको ट्रकमा १ सय ५० लिटर डिजेल हाल्दै गरेको अवस्था फेला पारेको थियो। दुबै बस र ट्रक भारततर्फ जाँदै गरेका थिए।
सुरज आयलका अलावा अनुगमन टोलीले जय माँ दुर्गे आयल स्टोर्समासमेत उस्तै घटना दोहोरिएको देखेपछि सिलबन्दी गरेको थियो। शिलबन्दी गरिएका पेट्रोल पम्पहरुलाई कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।