लमजुङ – मस्र्याङ्दी गाउँपालिकाको तोब्रो खोलामा आएको बाढीले एउटा ट्याक्टरसहित दुई घर बगाएको छ। मस्र्याङ्दी–४ ताघ्रिङको रामबजारस्थित जीतबहादुर गुरुङ र दमै गुरुङको घर आज अपराह्न बगाएको हो।
लमजुङ–मनाङ सडकखण्डअन्तर्गत पर्ने सो खोलामा आएको बाढीले घर नजिकै पार्किङ गरिराखेका तीनवटा मोटरसाइकल पनि बगाएको स्थानीयवासी बलबहादुर गुरुङले जानकारी दिए। बाढीका कारण रामबजारमा रहेको विनु गुरुङको घर जोखिममा परेको छ।
यस्तै माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाको कार्यालय र अन्य घर पनि जोखिममा रहेका स्थानीवासीले बताएका छन्। तीन दिनअघि देखि परेको अविरल वर्षाका कारण लमजुङका अधिकांश स्थानमा बाढी र पहिरोको जोखिम भएको छ।
ठाउँठाउँमा गएको पहिरोको कारण बेशीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा तत्काल घटनास्थल पुग्नसक्ने अवस्था नरहेको प्रजिअ झङ्कनाथ ढकालले बताए।
बाढीका कारण अहिलेसम्म मानवीय क्षति भने नभएको बताइएको छ।
यसैगरी दोर्दी जलविद्युत् आयोजनामा काम गर्दै गरेका दुई जनालाई मस्र्याङ्दीले बगाएको छ। बेशीशहर नगरपालिका–१० चितीमा निर्माणाधीन तल्लो दोर्दी जलविद्युत् आयोजनाका श्रमिक बलिराम चौधरी र लक्षमण थारूलाई मस्र्याङ्दीको भेलले बगाएको हो।
मस्र्याङदी किनारमा रहेको दोर्दी पावर हाउसमा काम गर्दै गर्दा एक्कासि बाढी आएपछि उनीहरुलाई नदिले बगाएको थियो । नदीले बगाएका दुईजनाको नाम यकिन भए पनि उनीहरुको ठेगाना स्पष्ट नभएको प्रहरी नायब उपरीक्षक यादव ढकालले बताए। अविरल वर्षा र नदीको ठूलो भेलले गर्दा खोजी कठिन भएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।