काठमाडाैं- हिन्दू नारीहरुको विशेष पर्व तीजको अवसर पारेर तीज सम्बन्धी विभिन्न गीतहरु बजारमा आउँछन्। तीज आउन केही महिना बाँकी रहँदै गीतसंगीत बजार तीजमय बन्ने गरेको हाे। याे समय कलाकारहरुमा तीज गीत बजारमा ल्याउने हाेडबाजी नै चल्छ। त्यसमा पनि बजारमा अाएपछि युट्युबमा कसकाे कुन गीत कति दर्शक स्रोताले हेरे र मन पराइदिए भन्ने विषयले अर्थ राख्ने गरेको छ। उसाे त हिजाेअाज युट्युबनै चर्चा र अार्थिक उपार्जन मापन गर्ने माध्यम बनेकाे पाइनछ।
पछिल्लो समय युट्युबमा गीतसंगीत र अभिनयले पाएको चर्चालाई मानक बनाएर सर्जक तथा कलाकारहरुको देश तथा विदेशमा डिमान्ड हुने गरेको छ। यसअनुसार वर्ष २०७५ मा सार्वजनिक भएकामध्ये दर्शकले सर्वाधिक रुचाएका ५ तीज गीतहरु:
१) लौरी हरायो ( पशुपति शर्मा र साथीहरु...)
वर्ष २०७५ मा सार्वजनिक भएका तीज गीतहरुमा सर्वाधिक दर्शकले रुचाएको गीत बनेको छ ‘लौरी हरायो’। पशुपति शर्मा, राजु ढकाल, देवी घर्ती र सुस्मिता घर्तीको संयुक्त स्वर रहेको गीत ‘लौरी हरायो’लाई गायक पशुपती शर्मा आफैंले लेखेका हुन्।
गीतलाई यो समाचार तयार पार्दासम्ममा ३१ लाख ४९ हजार ९ सय बढी दर्शकले हेरिसकेका छन्। देवी घर्ती र राजु ढकालको युट्युब च्यानलमा सार्वजनिक गीतलाई आसय डिजिटल प्रालिले बजारमा ल्याएको हो।
२) खिस्स हास्ने छोरो (रोशन गैरे र आशा केसी)
रोशन गैरे र आशा केसीको स्वरमा रहेको ‘खिस्स हास्ने छोरो’ बोलको गीत वर्ष २०७५ मा सर्वाधिक हेरिएका तीज गीतहरुमध्ये दोस्रो स्थानमा परेको छ। गायक गैरेकै शब्द तथा संगीतमा तयार गीतलाई राशी डिजिटल प्रालिले बजारमा ल्याएकाे हाे।
म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गीतलाई हालसम्म ३० लाख ८२ हजार २ सय बढी दर्शकले हेरिसकेका छन्।
३) यही माया हो (पशुपति शर्मा, सम्झना भण्डारी)
पृथ्वी इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार 'यही माया हो' बोलको तीज गीत पनि युट्युबमा चर्चामा छ। पशुपति शर्मा र सम्झना भण्डारीको स्वर तथा गायक शर्माकै शब्द संगीत रहेको गीतलाई हाल सम्ममा २४ लाख ८० हजार दुई सय बढीपटक हेरिएको छ।
गीतको म्युजिक भिडियोमा पनि गायकगायिका स्वयम्काे अभिनय हेर्न सकिन्छ।
४) मार्यो दैया (विष्णु माझी)
विष्णु माझीको स्वरमा रहेको ‘मार्यो दैया’ बोलको तीज गीत यस वर्ष सर्वाधिक हेरिने गीतहरुको चौथो स्थानमा छ। ‘पुतलीको भट्टी भाग–१४’ अन्तर्गत बजारमा अाएकाे 'मार्यो दैया'मा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको छ।
अभिनेत्री निता ढुंगानाको जाेडदार नृत्य तथा अभिनय रहेको उक्त गीतको म्युजिक भिडियोलाई १८ लाख ५५ हजार ३ सय बढी दर्शकले हेरिसकेका छन्।
५) माननीय ज्यू (कोमल वली, पशुपति शर्मा)
गायिका काेमल वलीले यसपटक अघिल्ला वर्षहरुमा भन्दा केही फरक शैलीकाे तीज गीत बजारमा ल्याइन्। यद्यपी ‘माननीय ज्यू’ बाेलकाे उक्त गीत दर्शक तथा श्राेताले रुचाएका छन्। पशुपति शर्माको शब्द/संगीत तथा कोमल वली र पशुपतिकै स्वर रहेको यस गीतलाई गायिका वलीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो।
गायक/गायिका स्वयम्को अभिनय रहेको गीतको भिडियोलाई १५ लाख ४९ हजार १ सय बढी दर्शकले हरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।