काठमाडौं– नेपालको सबैभन्दा पुरानो उद्योग विराटनगर जुटमिल पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि उत्पादन बन्द रहेको यो उद्योग मंगलबारदेखि पुनः सञ्चालनमा आएको हो।
‘झन्डै एक दशकपछि उद्योगबाट व्यवसायिक उत्पादन थालेका छौं,’ उद्योगका अध्यक्ष बसन्त वनले भने। लगातार ३ महिनादेखिको प्रयासपछि उद्योग सञ्चालन गर्न सफल भएको बताए।
गत वर्ष नै परीक्षणका रुपमा उद्योग सञ्चालन गरिए पनि उत्पादन हुन सकेको थिएन। अहिले उद्योगले जुट, सुतली, बोरालगायतका सामग्री उत्पादन गरिरहेको छ।
दैनिक ६ टन जुट उत्पादन गरिँदै, एक महिनापछि २० टन पुर्याइने
उद्योगका अध्यक्ष वनका अनुसार अहिले दैनिक ६ टनका दरमा जुट उत्पादन हुन थालेको छ। आगामी एक महिनाभित्रै दैनिक २० टन जुट उत्पादन गरिने योजना रहेको उनले सुनाए। ‘दैनिक ६ टन उत्पादन रहेको उद्योगले १० दिनभित्रै प्रतिदिन १० टन, १५ दिनमा १५ टन पुर्याउने लक्ष्य लिएको छ। एक महिनाभित्र २० टनमा पु¥याउने लक्ष्य छ,’ वनले भने। अहिले नै पनि उद्योगसँग दैनिक २० टन जुट उत्पादन गर्ने क्षमता छ।
विगतमा उक्त उद्योगले दैनिक ४५ टनसम्म जुट उत्पादन गर्ने क्षमता राख्थ्यो।
जुटमिलकाे सम्भावना उच्च
अहिले मुलुकभर ५ वटा जुट उद्योग सञ्चालनमा छन्। निजी क्षेत्रबाट सञ्चालित ती उद्योगले स–सानो परिमाणमा जुट उत्पादन गरिरहेका छन्।
जति ठूलो परिमाणमा उत्पादन गरे पनि जुटका लागि बजारको समस्या नहुने वन बताउँछन्। ‘आन्तरिक बजारमै जुटको माग उच्च छ,’ उनले भने, ‘उत्पादन बढाउन सकिए भारतीय बजारमा पनि निर्यात गर्न सकिन्छ।’ भारतमा जुटको माग उच्च रहेको र प्लास्टिक प्रतिस्थापन गर्ने महत्वपूर्ण उत्पादन जुट भएकाले पनि बजारको समस्या नहुने उद्योग विश्वास छ।
२ सयलाई रोजगारी
उद्योगका अध्यक्ष वनका अनुसार सञ्चालित उद्योगमा अहिले एक सय कर्मजारी कार्यरत छन्। तर, तत्कालै करीब दुई सय कामदार आवश्यक पर्ने उनी बताउँछन्। उत्पादन र आवश्यकता अनुसार सूची तयार गरी कर्मचारी परिचालन गर्दै जाने उनले बताए। उद्योगका लागि आवश्यक अधिकांश कर्मचारी स्थानीय स्तरबाट लिइए पनि पूर्ति हुन नसकेका व्यवस्थापन र बजारीकरणतर्फका केही पदमा भारतीय कर्मचारी ल्याइएको छ।
‘कच्चा पदार्थमा समस्या छैन’
उद्योग सञ्चालनका लागि कच्चा पदार्थको समस्या नरहेको वनले बताए। उनका अनुसार अहिले मुलुकमा उत्पादित कच्चा पदार्थबाट उद्योग सञ्चालन गर्न सकिन्छ। ‘अहिले वार्षिक १६ हजार टन जुट उत्पादन भइरहेको छ,’ उनले भने, ‘कच्चा पदार्थकै कारण उद्योग सञ्चालन गर्न नसकिने भन्ने छैन।’ उद्योग सञ्चालन भएपछि आगामी दिनमा जुट खेती प्रवद्र्धन हुँदै जाने उनी बताउँछन्।
७ करोड तत्काल अावश्यक
उद्योगका अध्यक्ष वनका अनुसार उद्योग सञ्चालनका लागि करीब ७ करोड रुपैयाँ आवश्यक छ। तर, खरीद तथा बिक्रीकर्ता लगायतका सरोकारवालासँग विश्वासको वातावरण बनाएर जसरी पनि उद्योगलाई गति दिने उनको योजना छ। दैनिक ६ टनका दरमा उत्पादन भएपनि उद्योग सञ्चालनको लागत धान्ने सकिने वन बताउँछन्।
उद्योगले केही स्वचालितसहित पुराना उपकरणसमेत उपयोगमा ल्याएर उत्पादन अघि बढाएको छ।
‘हामीले उद्योग सञ्चालनको व्यवसायिक योजना तयार गरेका छौं,’ वनले भने, ‘आगामी दिनमा कपडा उत्पादनकै तहमा जाने योजना छ।’
नेपालकै सबैभन्दा पुरानो यो उद्योग वि.सं. १९९३ मा स्थापना भएको हो। पर्याप्त विद्युत प्रवाह नहुँदा, पुराना मेसिनरी उपकरण, मजदुर आन्दोलन लगायतका कारण उद्योग जीर्ण भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।