काठमाडौं – फिल्म ‘कथा काठमाण्डु’को सार्वजनिक ट्रेलर हटाउन चलचित्र विकास बोर्डले निर्माण कम्पनीलाई निर्देशन दिएको छ।
भाद्र २४ गते बोर्डले निर्माण कम्पनी आर. सि. पिक्चर्स प्रा. लि. र आहाना फिल्म प्रोडक्सन प्रा. लि.का नाममा पत्र लेख्दै फिल्मको युट्युबमा सार्वजनिक ट्रेलर हटाउन निर्देशन दिएको हो।
बोर्डले पत्रमा लेखेको छ, ‘चलचित्र कथा काठमाण्डुको सामाजिक संजाल युटुबमा अश्लिल दृश्य सहित प्रोमोको रुपमा प्रदर्शन भइरहेको सम्बन्धमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ यससँगै भनिएको छ, ‘सामाजिक मर्यादामा यस्ता सामाग्रीले खलल पुग्ने देखिएकाले यथाशीघ्र चलचित्रको प्रोमो हटाई सोको लिखित जानकारी बोर्ड समक्ष पेस गर्न पर्नेछ।’ चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको हस्ताक्षर रहेको पत्रमा बोर्डले निर्देशन पालना नगरे चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०२६ र एै. एै नियमावली, २०५७ (संसोधन सहित) बमोजिम आवश्यक कारबाही हुने व्यहोराको समेत जानकारी गरएको छ।
पत्रको बोधार्थ सूचना तथा संचार मन्त्रालय श्रव्य – दृश्य शाखालाई समेत पठाइएको छ। बोर्डले पत्रमा सार्वजनिक भएको ट्रेलरको इन्टरनेट लिंक पनि उल्लेख गराएको छ। तर उक्त लिंक भने फिल्मको ट्रेलरको आधिकारीक लिंक नभई अन्य च्यानलको लिंक समावेश गरिएको छ।
बोर्डको पत्र प्राप्त गरे पश्चात यता फिल्म युनिटले एक प्रेस विज्ञप्ति सार्वजनिक गरी आपत्ति जनाएको छ। काठमाडौं भित्रका कथाको गहिराई सम्म पुर्याउन प्रस्तुत दृश्यमाथि फिल्म नै नहेरी बोर्डको कारबाही गर्ने समेतको पत्रले फिल्म युनिटलाई निराश बनाएको फिल्मकी निर्देशक संगीता श्रेष्ठको भनाइ छ।
असोज १२ बाट प्रदर्शनमा आउन लागेको चलचित्र 'कथा काठमाण्डु'को गीत र प्रोमोमा समावेश अभिनेता प्रमोद अग्रहरी र नायिका प्रियंका कार्की बीचको अन्तरंग दृष्यलाई लिएर फिल्मको चर्को आलोचना हुँदै आएको छ।
बाेर्डले फिल्म युनिटलाई पठाएकाे पत्र
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।