काठमाडाैं- ११औं महाधिवेसन सकिए लगत्तै आन्तरिक किचलोमा फसेको नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन हुने संकेत देखिएको छ। तीन समूहले जिल्ला तथा क्याम्पस भागबन्डा गर्ने औपचारिक सहमति भएपछि नेविसंघमा महाधिवेशन माहोल तातेको छ।
सभापतिले विधान विपरीत केन्द्रीय समितिमा सदस्य मनोनित गर्ने र आफू खुसी जिल्ला तथा क्याम्पस एकाईमा गठन गरेको भन्दै संस्थापन इतर समूहले आरोप लगाउँदै आएको थियो। महामन्त्री कुन्दनराज काफ्लेसहित चार उपाध्यक्षहरु संघ सभापति नैनसिंह महरको विरोधमा उत्रेपछि महाधिवेशन अनिश्चित बनेको थियो। त्यसकै कारण साउन २३ सम्ममा हुनुपर्ने महाधिवेशनलाई सरेको थियो। संघको विवादले लामो समयसम्म केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन।
पार्टीद्धारा गठित निर्देशक समितिले नेविसंघको वर्तमान कार्यसमितिले २०७३ भदौ २ मा पदभार ग्रहण गरेको आधार मानी मंसिर २ सम्मको लागि समयावधि बढाएको थियो। निर्देशक समितिमा संघले महाधिवेशनको कार्ययोजना बुझाएपछि तीन महिना बढाइएको थियो। संघीय संरचना अनुसार संघको विधान नभएकोले समायानुकल विधान बनाउन संघलाई निर्देशन दिइएको थियो।
संघमा ३२ वर्षे उमेर हदलाई लिएर मतभिन्नता रहेको थियो। ३२ वर्षको उमेर हद लागू भएको अवस्थामा वर्तमान कार्यसमितिका शीर्ष तहका अधिकांश विद्यार्थी नेताले सभापतिमा उम्मेदवारी दिन वञ्चित हुनेछन्। विद्यार्थी नेताको व्यक्तिगत स्वार्थका लागि उमेर हद हटाउने गरी तयार गरिएको विधान मस्यौदा निर्देशक समितिलाई बुझाउन लागेका छन्। तीन समूहमा बाँडिएका विद्यार्थीहरुमा सबै समूह उमेर हदबन्दी हटाउन सहमत भएका छन्।
कांग्रेस सह-महामन्त्री तथा निर्देशक समितिका संयोजक डा प्रकाशशरण महत भने उमेर हद लगाउने पक्षमा छन्। उमेर हद लागू भएमा उनी निकट विद्यार्थी नेता प्रेमराज जोशी सभापतिको प्रत्यासी बन्नेछन्। जोशी नेविसंघका सह-महामन्त्री हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेविसंघकी उपाध्यक्ष उर्मिला थपलिया उमेर हदका विषयमा पार्टीले दिएको जुनसुकै निर्णय स्वीकार गर्ने पक्षमा छन्।
विवादका कारण रोकिँदै आएको नेविसंघको केन्द्रीय समितिको गत सोमबार बसेको बैठकले कार्तिक १६ देखि १८ सम्म १२औं महाधिवेसन गर्ने निर्णय गरेको हो। महाधिवेसनका लागि मिति तय गरिएपनि स्थान भने टुङ्गो लगाइएको छैन। संघले तयार गरेको विधान र नियमावली पार्टी केन्द्रीय समितिको बैठकअघि बुझाइने बताइएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहिबारको लागि बोलाइएको छ।
पार्टीको तीन समूहको स्पष्ट छाँया विद्यार्थी संघमा पनि देखिएको छ। पार्टी संस्थापन पक्षको समर्थनमा संघका सभापति नैनसिंह महर छन्। ११औं महाधिवेशनमा सभापतिमा पराजित मनोजमणि आचार्यले वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका हुन्। संघका उपाध्यक्ष उर्मिला थपलिया र प्रकाश राना पनि पौडेल समूहका विद्यार्थी नेता हुन्।
कृष्णप्रसाद सिटौला पक्षको प्रतिनिधित्व महामन्त्री कुन्दनराज काफ्लेले गरेका छन्। काफ्लेलाई उपाध्यक्ष रामप्रसाद अधिकारीको समर्थन रहेको छ।
पार्टीको लाइन विद्यार्थी संगठनमा देखिएपछि विद्यार्थी नेताहरुले सोही अनुरुप जिल्ला तथा क्याम्पसमा आ–आफ्नो पक्षमा विभाजन गरेका छन्। तीन समूह गरी जिल्ला तथा क्याम्पस बाँडिएको बताइएको छ।
महाधिवेसनका लागि ठूला, मझौला र साना गरी जिल्ला विभाजन गरिएको छ। जिल्लाको श्रेणी बनाए अनुसार तीन समूहले भाग लगाएका छन्। मोरङ, कास्की र चितवन तीन समूहले बाँडेका छन्। त्यस्तै गरी उपत्यकका तीन जिल्लामा पनि तिनै समूहको भागमा परेको छ। तीनै समूहलाई सन्तुलन हुने गरी विभाजन गरिएको एक विद्यार्थी नेताले बताए।
ठूला क्याम्पसमा भने विवाद कायमै छ। पृथ्वी नारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस, त्रिवि किर्तिपुर, शंकरदेव क्याम्पस लगायतको भागबन्डा टुङ्गिएको छैन। तीन समूहलाई विभाजन गर्दा ७५ प्रतिशत देउवा र पौडेल समूहका विद्यार्थीलाई दिइएको छ भने बाँकी २५ प्रतिशत सिटौला पक्षलाई छुट्याइएको छ।
जिल्ला र क्याम्पसमा अधिवेशन गर्नका लागि खटाइएका केन्द्रीय प्रतिनिधिले आफूखुसी प्रतिनिधि छनोट गर्न नपाइने गरी विधानमा कडाइ गरिएको बताइएको छ। आफ्नो प्रभाव भएका स्थानमा आफू निकटका प्रतिनिधि छनोट गर्न विद्यार्थी तथा पार्टीका नेता लाग्ने गरेका छन्। आफु अनुकूल महाधिवेशन प्रतिनिधि छनोट गर्न पार्टी नेताले गृहजिल्लामा हस्तक्षेप गर्ने परम्परा पनि छ।
नेविसंघले पार्टीमा बुझाउन लागेको प्रस्तावित विधानमा दुई हजारभन्दा बढि महाधिवेशन प्रतिनिधी नहुने गरी मस्यौदा तयार गरिएको छ। विगतका महाधिवेशनमा तीन हजार पाँच सयभन्दा बढि महाधिवेशन प्रतिनिधि सहभागी हुने गरेका थिए। प्रस्तावित विधानमा क्याम्पसहरुबाट महाधिवेसन प्रतिनिधि घटाइने भएको छ। प्रतिनिधि छनोट गर्दा समावेशी हुनुपर्ने प्रावधान पनि राखिएको छ। सहभागी हुने प्रति संघले तयार गरेको विधानलाई पार्टीले अनुमोदन गरेपछि लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।