काठमाडाैं- अाज हरितालिका तीज, हिन्दु नारीहरूको विशेष पर्व। केही समयदेखि गाँउ, शहरमात्र नभइ विदेशमासमेत तीजको रौनक छ। चेली र माइतीबीचको मिलन अनि सुख दुःखका क्षण साट्ने पर्वका रुपमा तीजलाई लिने गरिन्छ। तीजमा भगवान शिवको पूजा आराधना गरिनुका साथै भक्तिभावका साथ महिलाले व्रत बसेर आफ्ना पतिको दीर्घायुको कामना गर्छन्।
तीज उत्कर्षमा रहिरहँदा यसबाट नेपाली महिला कलाकारहरु पनि अछुताे रहने कुरै भएन। नयाँ देखि पुराना सबै कलाकारलाई तीजको लहरले छाेपेकाे छ। वर्ष दिनमा एकपटक मनाउने पर्व रमाइलाेका साथ मनाउने तरखरमा देखिन्छन् उनीहरू। तीज आउन २–३ महिना बाँकी छदै उनीहरुकाे व्यस्तता चुलीमा हुन्छ।
अर्कातर्फ केही महिनाअघि देखिनै तीज गीतले बजार तताएको हुन्छ। यही मेसाेमा विभिन्न सर्जक तथा कलाकारले सयौँ गीत तथा भिडियो बजारमा ल्याउँछन्।
गायकगायिका तथा नृत्यागनाहरुलाई देशविदेशमा हुने कार्यक्रमले गर्दा भ्याइनभ्याई हुन्छ।
कुन कलाकारले कसरी मनाउँदैछन् तीज?
व्रत नबस्ने गायिका मञ्जु पौडेल
महिलाहरुको प्रमुख चार्डका रुपमा तीजलाई लिइने हुँदा आफू निकै रमाउने गरेको सुनाउँछिन् गायिका मञ्जु पौडेल। तीजलाई अत्यन्त रमाइलो पर्वको रुपमा बुझेकी मञ्जुलाई यसपाली स्टेज कार्यक्रमले व्यस्त बनायाे। गत अाइतबार मात्रै जापान र अस्ट्रेलिया लगायतका देशमा तीज विशेष सांस्कृतिक कार्यक्रम भ्याएर नेपाल फर्किएकी मञ्जु तीजकाे दिन भने पोखरामा हुनेछिन्।उनी एक सांस्कृतिक कार्यक्रमका लागि पोखरा पुगेकी हुन्।
मञ्जु भन्छिन्, ‘कलाकारको तीज अरुको भन्दा झन् विशेष हुन्छ। किनकी कलाकारले आफू सँगसँगै अन्य दर्शक स्रोतालाई पनि गाएर नाचेर मनोरञ्जन प्रदान गर्नु पर्ने हुन्छ।’ तर, मञ्जु अन्य महिला दिदीबहिनीजस्तो व्रत भने बस्दिनन्। भन्छिन्,‘व्रत बसेर आफ्ना माग पुरा होलान् जस्तो लाग्दैन।’
कलाकार भुवन चन्दकाे तीज पारिवारिक जमघटमै बित्ने
वरिष्ठ कलाकार भुवन चन्द यसपटकको तीज आफ्नै परिवारसँग बसेर मनाउने योजनामा छिन्। भुवनका लागि यसपटकको तीज केही विशेष बन्न पुग्यो। किनकी यसपटक उनले एक तीज गीतमा अभिनयसमेत गरिकी छन्। जसले गर्दा दरखाने कार्यक्रम तथा अवार्ड कार्यक्रममा सहभागिताको निमन्त्रणाले उनको व्यस्तता बढेको छ। भन्छिन्,'यसपटक धेरै दिदीबहिनी तथा अाफन्तसँग भेट्न पाएँ। यसकारण पनि मेरा लागि याे पटकाे तीज विशेष बन्याे।'
स्वास्थ्य अवस्थालाई ख्याल गर्दै भुवन श्रीमानकाे दीर्घायूका लागि फलफुल तथा पानी खाएर व्रत बस्दै तीजलाई विशेष बनाउने योजनामा छिन्।
पाल्पालीसँग रमाउँदै गायिका शर्मिला गुरुङ
वरिष्ठ लोक तथा दोहोरी गायिका शर्मिला गुरुङ पाल्पाली दर्शक तथा स्रोतासँगै बसेर तीज मनाउने सुरमा छिन्। महिला चेलीहरुको दु:ख र वेदना भुलाउने तीजलाई मौलिक र तडकभडक नबनाई मनाउनु पर्ने धारणा राख्दै आएकी गुरुङ तीजलाई सबैले परम्परा र मौलिक पर्वको रुपमा मनाउन आग्रह गर्छिन्।
गुरुङ भन्छिन्,'तीजकाे महत्वपूर्ण अंग नै गीत हाे। यसलाई माैलिक तरिकाबाटै प्रस्तुत गर्दा तीजकाे गरिमा बढ्छ।'
स्वदेशमै दंग अभिनेत्री चैत्य देवी
फिल्म 'आमा', 'कुमारी'जस्ता पुराना चलचित्रकी अभिनेत्री तथा कलाकार चैत्य देवीले यस वर्षको तीज नेपालमै मनाउँदै छिन्। आफ्ना श्रीमानको जागिरका कारण धेरै वटा तीज देश बाहिर मनाउँदै आएकी उनी यसपटक स्वदेशमै तीज मनाउन पाउँदा दंग छिन्। विदेशमा रहँदा पनि नारीहरुको पर्वलाई हर्सोल्लासका साथ मनाएको सम्झना छ उनीसँग। 'धेरैपटक विदेशमा तीज मनाए। यसपटक नेपालमै छु।', उनी भन्छिन्, 'दिदीबहिनी र अाफ्ना अाफन्तसँगै तीज मनाउन पाउँदा पक्कै फरक महसुस भएकाे छ।'
उनी सबैलाई तीज मनाउँदा खानपिन र स्वास्थ्यलाई मध्यनजर गर्न सुझाउँछिन्।
विदेशी कार्यक्रम त्यागेर उपत्यकामै रमाउँदै गायिका लक्ष्मी न्यौपाने
वरिष्ठ लोकगायिका लक्ष्मी न्यौपाने यस वर्षकाे तीज काठमाडौं उपत्यकामै मनाउँदै छिन्। विभिन्न देशबाट सांस्कृतिक कार्यक्रमका लागि आएका अफरहरु त्यागेर न्यौपानेले तीज उपत्यकाभित्रै मनाइरहेकाे बताइन्।
परम्परादेखि मनाइँदै आएको मौलिक पर्वलाई माैलिक रुपमै मनाउनुपर्छ र यसलाई विकृत बनाइनु हुन्न भन्ने विचार अँगाल्ने लक्ष्मी भन्छिन्,‘सकेसम्म तीजलाई सबैले मौलिक बनाउँ। हाम्रो मौलिकता नै रहेन भने हाम्रो पहिचान हराउन सक्छ। त्यसैले तीज गीतलाई पनि पर्व गीतका रुपमा विकास गरौँ।’
बसुन्धरा भुसालको धान रोपाइँ जस्तो व्यस्त तीज
कलाकार बसुन्धरा भुसालको यस वर्षको तीजमा असार १५ जस्तो भ्याइ-नभ्याई भएको छ। भन्छिन्, ‘भदौ २ गते देखिनै तीज मनाइरहेकी छु।’ तीजको परिस्कृत रुपदेखि खुसी हुँदै बसुन्धरा थप्छिन्,‘पहिला-पहिला घर परिवार आफन्त भित्रमात्र मनाइने तीजलाई अहिले हरेक संघसंस्था, गुठी र समूहमा मनाउने प्रचलन आएको छ। अझ महिला समूहले खाने मात्र काम नगरेर सामाजिक कार्यमा पनि खर्च जुटाएको थाहा पाउँदा अत्यन्त खुसी लाग्छ।’
बसुन्धरा यस वर्षको तीज आफ्नै घरमा चेली माइतीका साथ मनाउँदै छिन्। उमेरले ६७ टेकेकी बसुन्धरा दिनभरी भोकै व्रत बस्ने र साँझ परेपछि भने पानी र फलफूलको भोजन गर्ने सोचमा छिन्।
अभिनेत्री केकीका लागि तीज खल्लो
अभिनेत्री केकी अधिकारीको यसपटककाे तीज खल्लो भएको छ। यसै वर्ष आफ्नो हजुरबुवाको निधनले परिवार शाेकमा परेकाले केकी तीजको तामझाममा छैनन्। यसकारण पनि उनले कुनै तीजका कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमहरुमा सहभागिता जनाइनन्।
तर, आफ्नो लागि विशेष नबनेपनि सम्पुर्ण महिलाहरुको दिन भएकोले यसैमा रमाउने उनको भनाइ छ।
छक्का पञ्जामय तीजमा रमाउँदै दिपाश्री निरौला
कलाकार तथा निर्देशक दिपाश्री निरौलाको यस वर्षको तीज फिल्म छक्का पञ्जामय बनेकाे छ। उनी तीजमा फिल्म ‘छक्का पञ्जा–३’ टिमसँगै प्रत्यक्ष कार्यक्रममा सहभागी हुने तयारीमा छिन्।
तीजलाई भव्य र सभ्य रुपमा मनाउन स्वास्थ्य अवस्थालाई असर नपर्नेगरी व्रत बस्न सम्पुर्ण नारीलाई दिपाको सुझाब छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।