डिप्रेसन रोग परापूर्व काल देखि देखिएको रोग हो । डिप्रेसन रोग धेरै मानिसमा पाउने रोग हो । बिश्व स्वस्थ्य संगठनले डिप्रेसन जिवनकालमा पुरुषमा १५ र महिलामा २५ प्रतिशतसम्म हुने बताएको छ । डिप्रेसन रोग लागेको बिरामीलाई अर्कै रोगलागेको भान हुन्छ । पटक पटक उपचारको शिकायत गर्ने, धेरै परिक्षण गर्ने तर रोग नभेटिने समस्या हुन्छ । सोही पिडाका कारण केहि बिरामीले आत्महत्या गर्ने गरेको पनि पाईएको छ । एकै पटक धेरै अंगमा लक्षण देखिने रोग डिप्रेसन हो।
केही बिरामीलाई नशा पोल्यो, हात खुठ्ठा झमझम गर्यो, सिल्का हान्ने भयो, शरिर तात्यो भन्ने हुन्छ । रोग पत्ता नलाग्दा उनीहरु अनेकौ औषधि पसल चार्हछन् । कतिपय बिरामी धामीझाँक्रिकोमा जान्छन्। नेपालमा डिप्रेसन रोगको कारणमा परिवारिक कलह,कार्य असफल हुनु, श्रीमान् बिदेशिनु, प्रेममा वियोग, आफन्तको मृत्यु, बिदेश बस्नु, व्यापारमा नोक्सानी, जागिर छाड्नु, बालक अवस्थामा आमाबाबुबाट टाढा रहनु र राजनितिक असन्तुलनको असर आदि मुख्य हुन् ।
कतिपय डिप्रेसन रोगका बिरामी राती निदाउँदैनन् वा निद्रा नपर्ने हुन्छ । डिप्रेसनका बिरामीहरु आत्तिने खालको सपना देख्छन् । धेरै डिप्रेसनका बिरामी आफुलाई असफल ठान्छन् र भविष्यप्रति निराशावादी हुन्छन् । कोही यौन असफलता भएको लक्षण लिई डाक्टर कहाँ आउछन् । डिप्रेस का लक्षणहरु कम्तीमा २ हप्तासम्म देखिएमा रोगको यकिन गर्न सकिन्छ । महिलामा डिपे्रसन बढी हुने खास कारण थाह भएको छैन तर सहन सक्ने क्षमता महिलामा कम हुने भएकोले रोग बढी लागेको भन्ने अनुमान छ।
डिप्रेसन रोगका बिरामी नेपालमा धेरै छन् । कतिपय बिरामीहरु सुरुमा बेलुकिपख टाउको दुख्ने , कुराहरु बिर्सने, आत्मबल घट्ने, आत्तिएको महसुस गर्ने, दुख परेको मानिस देख्दा मन थाम्न नसक्नेलगायतका लक्षण देखिन्छ।
मानिसहरुमा बिभिन्न खालका डिपे्रसन देखा पर्छन् । त्यसअनुसार लक्षणमा पनि विभिन्नता पाईन्छ । कतिपय डिप्रेसनका बिरामी झर्किने र बढि रिसाउने, एक्लै बस्न रुचाउने गर्छन् ।
शारिरिक रोग जस्तै क्यान्सर, मधुमेह, थाइराइड ग्रन्थिको गडबड तथा दिर्घ रोगिहरुमा पछि गएर डिप्रेसन रोग लाग्ने सम्भावना बढी रहन्छ । डिप्रेसनका कारण कतिपय बिरामीहरु घाँटिमा केहि अडकियो भन्ने, आफुलाई क्यान्सर भयो भनि रुने, मर्ने भइयो भनेर आत्तिने, परिवारको बारेमा कुनै चिन्ता नलिने र जीवनमा आशामारेको पनि भेटिन्छन्। डिप्रेसनका बिरामीले आवश्यक कुरामा पनि मन थाम्न सक्दैनन्, जस्तै सडकमा एकजना बिरामी देख्दा वा मरेको मानिस देख्दा आत्तिने र चिन्तीत हुने गर्छन् । डिप्रेसनका बिरामी एउटै घटनालाई आधारमानी सधैं त्यसमा अनावश्यक विवाद गर्छन् । जस्तै परीक्षामा १ पटक फेल भएमा अब सधै फेल भइन्छ भनि आतिन्छन् । जुन गलत हो।
कतिपय डिप्रेसनका रोगी नकारात्मक सोचाईबाट पिडित हुन्छन् । मनमा यस्ता सोचाई लिन्न भनेपनि ति सोचाइ आउनाले छटपटि महसुस हुन्छ । डिप्रेसनका बिरामीमा सिटी स्क्यान, यम.आरआई गर्दा कुनै खराबी देखिदैन । तर न्यूरोट्रान्समिटर परीक्षण गर्दा मस्तिष्कमा सेरोटोनिन तथा नरइपिनेफ्रिन भन्ने तत्व कम देखिन्छ । डिप्रेसन रोग एक जटिल रोग हो । डिप्रेसन विभिन्न प्कारका हुन्छन् । र प्कार अनुसार लक्षण पनि फर फरक हुन्छ । समयमै उपचार गरे यो रोग निको हुन्छ । यो रोग पहिचान गर्न धेरै डाक्टरलाई गाह्रो हुन्छ।
केहि डिप्रेसनका बिरामीमा काम्ने, बक्ने, अचानक बेहोस हुने, हातखुट्टा नचल्न,े शरिरको संवेदना हराउने, आफ्नो नाम उल्टो बताउने वा उत्तर उल्टो दिने, नबोल्ने, छिटो छिटो श्वास फेर्ने लक्षण पनि देखिन्छ । डिप्रेसनका बिरामी रोगका कारण केही बिरामीले अनौठो लक्षण देखाउँदा कुटाई खाने, बोक्सीको आरोप पाउने गरिएको पनि भेटिएको छ । मानसिक रोगको झन्डै एक तिहाई हिस्सा ओगट्ने डिप्रेसनका बिरामी आफुलाई नसाको रोग लाग्यो भन्न रुचाउछन् । समुदायमा ५ प्रतिशत मानिस डिप्रेसन रोगबाट पिडित छन् । जुन पहिचान गर्न नसकिने भएकोले उपचार गर्न पाएका हुदैनन् । समुदायमा आत्महत्या भएको घटना सुनिन्छ, यसको प्रमुख कारण डिप्रेसन नै हो।
डिप्रेशन रोगका बिरामीहरु कस्ता समस्या लिएर आउछन् ?
- बिरामीहरु आफुलाई टाउको दुख्ने रोगको लक्षण बताउँछन् ।
- कतिपय बिरामीहरु क्यान्सर लागेको शंका गर्छन् ।
- कोही घाँटिमा केहि अड्कियो भनी आत्तिन्छन् ।
- कोही यौन अंगको समस्या भएको बताउँछन् ।
- कोही बिरामीहरु पेट पोल्ने, पेटमा अप्ठ्यारो महसुस भएको बताउँछन् ।
- कोही चाही मुटुको रोग लाग्यो भन्दै मुटु रोग विशेषज्ञकहाँ पुग्छन् ।
- कोही ढाड दुख्ने, जोर्नि दुख्ने समस्याको सिकायत गर्छन् ।
- कोही खाना अपच, पाचन शक्तिमा कम भएको शिकायत गर्छन् ।
- कोही काम्ने र बक्ने गर्छन् र बोक्सी लागेको विश्वास गर्छन् ।
- कोही अचानक वेहोस भएको बताउँछन् ।
- डिप्रेशनका बिरामी एक्लै शान्त ठांउमा बस्न रुचाउँछन ।
- कोही बढि चिन्ता गरिरहने र आफ्नो जिवन देखिनै हरेस खाएका हुन्छन् ।
कसरी मानसिक स्वस्थ बन्ने ?
- अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने ।
- अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने ।
- पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुट्टा सावित भएका छन् तिनमा विश्वास नगर्ने।
- हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
- जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहेनत गर्न नछाड्ने ।
- लागू पदार्थ, रक्सी, ड्रग्स सेवनले मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले, यी वस्तुबाट टाढा रहने।
- दैनिक जिवनमा स्वास्थ्य प्रतिस्पर्दा गर्ने।
- समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने।
- अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने।
- परिवार, साथीभाईलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ।
- मनलाई सधै शान्त राख्ने।
- योग, व्यायाम गर्ने ।
- रमाइलो गर्ने, परिवारलाई समय दिने ।
- मनका कुरा पोख्ने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।